काठमाडौं । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत पाँच सय बढी नेपाली विद्यार्थीलाई कुटपिट गर्दै होस्टेलबाट जबरजस्ती निकालेर रेल स्टेसनमा छोडिएको छ।

उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको भारतीय मिडिया द इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ । ‘नेपालबाट आएका ५०० बढी विद्यार्थीहरूलाई बस चढ्न भनिएको थियो र विभिन्न रेलवे स्टेसनहरूमा छोडिएको थियो, जहाँबाट उनीहरूलाई घर फर्कन भनिएको थियो’, द इन्डियन एक्सप्रेसले आफ्नो समचारमा उल्लेख गरेको छ ।

भारतीय मिडिया एएनआईसँग कुराकानी गर्दै नेपाल विद्यार्थी अनिलप्रसाद यादवले भनेका छन्, ‘हामीलाई आज होस्टेलबाट धकेलेर निकालियो । हिजो नेपालकी एक छात्रा मृत फेला परेकी थिइन् । यसबारे थप जानकारी लिन हामी अन्तर्राष्ट्रिय कार्यालय गयौं तर केही पनि भनिएन । हामी त्यहाँ रातभर धर्नामा बस्यौं । त्यहाँबाट हामीलाई होस्टेल फिर्ता पठाइयो । अन्ततः हामीलाई एक घण्टाभित्र सामान प्याक गरेर जान भनियो। हामीसँग केही छैन । हामीलाई थाहा छैन हामी कसरी जाने । हामीले खाना पनि खाएका छैनौँ ।’

आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । मृतक छात्रा नेपालली बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन । विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भनेको थियो ।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुव्र्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ । सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवहार गरेको अडियो समेत पोष्ट गरेका छन् ।

आत्महत्या गरेको विषयमा नेपाली विद्यार्थीहरूले उजुरी दिएपछि घटनाले उग्ररुप लिएको हो । आत्महत्या गरेकी लम्साल विश्वविद्यालयकै अर्का विद्यार्थीको प्रेम सम्बन्धमा रहेको पाइएको र आत्महत्याको कारण स्पष्ट नभए पनि, प्रेम सम्बन्धमा आएको खटपाट हुन सक्ने अनुमान गरिएको एएनआईले उल्लेख गरेको छ ।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको स्रोतको दाबी छ ।

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए । विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृति ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । स्रोतका अनुसार मृतकको शवलाई अहिले पोस्टमार्टमको लागि क्यापिटल अस्पताल लगिएको छ । विश्वविद्यालयले विद्यार्थीहरू बीच तनाब बढेको भन्दै उनीहरूलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेको एएनआईमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0