विर्तामोड । झापाको बिर्तामोड मा साप्ताहिक बजार बन्दको विषय पुनः बहसको केन्द्रमा आएको छ। सरकारी स्तरमा आइतबार सार्वजनिक बिदा लागू भएपछि वर्षौंदेखि कायम सोमबारको बजार बन्द व्यवस्थाले व्यापार, उपभोक्ता र आर्थिक गतिविधिमा असर परेको भन्दै व्यवसायीहरूबीच फरक–फरक धारणा देखिएका हुन्।
यस विषयमा बिर्तामोड उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा अधिकांश व्यवसायीहरूले बजार बन्दको दिन पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। संघका अध्यक्ष राजु न्यौपाने को अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष, वस्तुगत संघ–संस्था, थोक तथा खुद्रा व्यवसायीहरूको सहभागिता रहेको थियो।
व्यवसायीहरूले आइतबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुने र त्यसपछि सोमबार बिर्तामोड बजारसमेत बन्द हुँदा आर्थिक गतिविधि लगातार प्रभावित हुने बताएका छन्। विशेषगरी बैंकिङ कारोबार, ढुवानी, बिलिङ तथा थोक व्यापारमा समस्या बढेको उनीहरूको भनाइ छ।
हार्डवेयर, डिलर तथा मुद्रण व्यवसायसँग सम्बन्धित व्यवसायीहरूले शनिबार बजार बन्द गर्नुपर्ने माग अघि सारेका छन्। मुद्रण उद्योग संघ, मेची डिष्ट्रिव्यूटर्स एशोसिएसन, हार्डवेयर व्यवसायी संघ झापा र क्यान झापा ले संयुक्त रूपमा शनिबार बन्दको मागसहित ज्ञापनपत्र बुझाएका थिए।
यद्यपि कपडा तथा खुद्रा व्यवसायीहरूको ठूलो समूहले सोमबारकै बन्दलाई निरन्तरता दिनुपर्ने मत राखेको छ। सप्ताहन्तमा किनमेलको चाप बढी हुने भएकाले शनिबार बन्द गर्दा खुद्रा व्यापार प्रभावित हुने उनीहरूको तर्क छ।
छलफलमा केही व्यवसायीहरूले भने प्रतिस्पर्धी बजार, अनलाइन व्यापार र सीमावर्ती बजारको प्रभावलाई मध्यनजर गर्दै सातै दिन बजार सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्।
छलफलमा उठेका सुझाव तथा धारणा आगामी साधारण सभामा निर्णयार्थ पेश गरिने बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ।












