दमक । झापाको दमकमा एक बैंक कर्मचारीले सामाजिक सञ्जाल फेसबुकमा चार जनाको सामूहिक फोटो पोस्ट गरी आत्महत्या गरेका छन्।
दमक–८ लक्ष्मीमार्ग टोल निवासी ४२ वर्षीय पिताम्बर खड्काले दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको नाम उल्लेख भएको सामूहिक तस्वीर फेसबुकमा पोस्ट गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार खड्काले आज साँझ करिब ५ बजे फेसबुकमा उक्त तस्वीर पोस्ट गरेका थिए। त्यसपछि आफ्नै घरको भुइँतलाको कोठाभित्र सिलिङ फ्यानमा रहेको फलामको हुकमा प्लास्टिकको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन्।
मृतकका बुवा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा गएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाउँदै थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
मृतक खड्काको शव पोस्टमार्टमका लागि दमक अस्पताल लगिएको वडा नं. ८ का अध्यक्ष धर्मप्रसाद दाहाल (दपेश) ले जानकारी दिए।
खड्का हाल ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत रहेको बुझिएको छ।













