काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई सरकारको नाङ्गो प्रतिशोधको रूपमा व्याख्या गर्दै त्यसको घोर निन्दा र भर्त्सना गरेको छ। पार्टीको सांगठनिक सुदृढीकरण अभियानका सिलसिलामा सुर्खेतमा रहेका बेला पौडेललाई गैरकानुनी ढंगले ‘अपहरणको शैली’ मा नियन्त्रणमा लिइएको भन्दै एमालेले गम्भीर आपत्ति प्रकट गरेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज एक प्रेस वक्तव्य जारी गर्दै यस घटनालाई विपक्षी दलहरू विरुद्ध वर्तमान सरकारले अख्तियार गरेको अराजनीतिक र अलोकतान्त्रिक हर्कतको पराकाष्ठा भएको बताएका छन् । विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’
एमालेले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई पार्टीमाथि भइरहेको श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता भएको ठहर गरेको छ। सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेकै अवस्थामा सामान्य सोधपुछ समेत नगरी ‘सस्तो राजनीतिक खपत’ का लागि बदनियतपूर्वक समातिएको एमालेको आरोप छ।
अध्यक्ष ओलीले विज्ञप्तिमा भनेका छन्, ‘उपाध्यक्ष पौडेल आजै सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो । विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ । सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ ।’












