शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिका मा सामुदायिक कुकुरको आतंक बढ्दै गएपछि नगरपालिकाले कुकुर नियन्त्रण अभियान सुरु गरेको छ। सोमबार मात्रै नगरका विभिन्न स्थानमा एक आक्रामक कुकुरको आक्रमणबाट तीन जना बालबालिका तथा किशोर घाइते भएपछि नगरपालिकाले तत्काल नियन्त्रण प्रक्रिया अघि बढाएको जनाएको छ।
सोमबार बिहान शिवसताक्षीको ढुंगेल चोक क्षेत्रमा एक कालो कुकुरले ८ वर्षीय बालकलाई आँखामुनिको भागमा टोकेर घाइते बनाएको थियो। घाइते बालकलाई उपचारका लागि भद्रपुर लगिएको बताइएको छ।
त्यसैगरी साँझ विद्यालयबाट घर फर्किने क्रममा झिलझिलेस्थित पुरानो सिनेमा हल जाने बाटोमा रहेको सेभेनसिज विद्यालय मा कक्षा २ मा अध्ययनरत एक बालकमाथि सोही कुकुरले आक्रमण गरेको थियो। मुखमा चोट लागेका ती बालकलाई उपचारका लागि बी एन्ड सी अस्पताल लगिएको छ।
यस्तै झिलझिलेस्थित कपट हलमा कराते प्रशिक्षण लिइरहेका १७ वर्षीय एक किशोरलाई पनि उक्त कुकुरले गालामा टोकेर घाइते बनाएको स्थानीयवासीले बताएका छन्। आक्रमणपछि कुकुर फरार भएको जनाइएको छ।
एकै दिनमा तीन जनामाथि आक्रमण भएको घटनाले स्थानीयवासीमा त्रासको अवस्था सिर्जना गरेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ नगरपालिकाले आक्रामक कुकुरको खोजी तथा नियन्त्रण अभियान सुरु गरेको जनाएको छ।
नगरप्रमुख मेगाहाङ थोप्राले सामुदायिक कुकुरको आक्रमणबाट बालबालिका घाइते भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै नगरपालिकाले तत्काल कुकुर नियन्त्रण टोली परिचालन गरेको जानकारी दिनुभयो। उहाँका अनुसार विशेषगरी झिलझिले बजार क्षेत्रका भुसिया कुकुरलाई नियन्त्रणमा लिने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।
नगरपालिकाले अभिभावकलाई बालबालिकालाई एक्लै हिँड्न नदिन, घर बाहिर निस्कँदा विशेष सावधानी अपनाउन तथा शंकास्पद वा आक्रामक कुकुर देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
स्थानीयवासीले आक्रामक कुकुरलाई यथाशीघ्र नियन्त्रणमा लिएर थप क्षति हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। साथै यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी नियन्त्रण, व्यवस्थापन तथा रोकथामका उपाय अवलम्बन गर्नुपर्ने मागसमेत गरेका छन्।
भुसिया कुकुरको बढ्दो समस्याले नगर क्षेत्रमा मानव सुरक्षासम्बन्धी चुनौती थपिएको भन्दै स्थानीयवासीले दीर्घकालीन समाधानका लागि व्यवस्थित कुकुर व्यवस्थापन कार्यक्रम सञ्चालन गर्नसमेत आग्रह गरेका छन्।












