खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. ५ स्थित चिसापानी नमूना माध्यमिक विद्यालयमा जातीय विभेद तथा छुवाछुत उन्मूलन र दलित अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अरुणा देवी राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईं, कार्यपालिका सदस्य तारा कोइराला, ध्रुव विश्वकर्मा, वडा महिला सदस्य गीता परिवार तथा विद्यालयका प्रधानाध्यापक रामबहादुर राउतलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले जातीय विभेद र छुवाछुतजस्ता सामाजिक विकृतिको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले विद्यालयस्तरबाटै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले नयाँ मुलुकी ऐन, २०२० ले छुवाछुतलाई कानुनी रूपमा अन्त्य गरेको र नेपालको संविधानको धारा ४० ले दलित समुदायका अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो।
अध्यक्ष राईले हरेक वर्ष जेठ २१ गते जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवस मनाइने भए पनि समाजमा अझै विभेदका घटना देखिने गरेको भन्दै यस्ता कार्यक्रममार्फत विद्यार्थी तथा समुदायमा कानुनी र सामाजिक चेतना अभिवृद्धि गर्न खोजिएको बताउनुभयो। जन्मकै आधारमा कुनै पनि व्यक्तिमाथि सार्वजनिक स्थल, मन्दिर, धारा–पँधेरा वा अन्तरजातीय विवाहका विषयमा विभेद गरे कानुनी कारबाही हुनेबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले समाजमा गहिरो रूपमा जरा गाडेको जातीय विभेद अन्त्य गर्न यस्ता अन्तरक्रियाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंले दलित समुदायले आफ्ना हक र अधिकारबारे जानकारी पाए राज्यका विभिन्न निकायमा उनीहरूको सहभागिता र प्रतिनिधित्व थप सशक्त बन्ने बताउनुभयो।
महिला एकता अध्ययन केन्द्र को आयोजनामा तथा जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष दुर्गा जयन्ती राईले गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा प्रमुख जेनिसा तिम्सिनाले राख्नुभएको थियो भने सहजीकरण अधिवक्ता सानु कार्की बस्नेतले गर्नुभएको थियो।
कार्यक्रममा वडा नं. ५ का जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासी गरी ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
आयोजकका अनुसार जातीय विभेद तथा छुवाछुत उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जन्तेढुंगा गाउँपालिकाका काउले र डम्बरखुमा क्षेत्रमा समेत यस्ता अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।












