बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाको आयोजनामा सञ्चालित “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग” सम्बन्धी प्रदान गरिएको छ ।
बिर्तामोड नगरपालिकाको सहयोगमा आयोजित तालिममा जिल्लाका ३० भन्दा बढी पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिममा पत्रकार लिलाराज भट्टराई र उमाकान्त खनालले प्रशिक्षण प्रदान गर्दै एआईको प्रयोगद्वारा समाचार लेखन, सम्पादन, प्रशारण तथा भिडियो सामग्री उत्पादनका विषयमा व्यावहारिक जानकारी दिनुभयो। प्रशिक्षकहरूले डिजिटल पत्रकारितामा प्रविधिको भूमिकाबारे सहजीकरण गर्दै पत्रकारहरूलाई एआईसँग अभ्यस्त बन्न प्रेरित गरेका थिए।
कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रविधिको उपयोग समयको माग भएको उल्लेख गर्दै पत्रकारितामा एआईको प्रयोग आवश्यक र प्रभावकारी भएको धारणा व्यक्त गर्नुभयो। उहाँले कामलाई छरितो, विश्वसनीय र प्रभावशाली बनाउने माध्यमका रूपमा एआईको सदुपयोग गर्न पत्रकारहरूलाई सुझाव दिनुभयो। साथै, प्रविधिको बढ्दो दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै यसको सचेत प्रयोगमा जोड दिनुभयो।
तालिममा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण नगर प्रमुख प्रसाईले गर्नुभएको थियो। कार्यक्रम प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव युवराज आचार्यले गर्नुभएको थियो।












