बिर्तामोड । संविधान दिवसको अवसर पारेर नेपाल पत्रकार महासङ्घ झापाले शुक्रबार बिहान प्रभातफेरी  कार्यक्रम सम्पन्न गरेको छ। विर्तामोडको मुक्तिचोकबाट सुरु भएको उक्त प्रभातफेरीमा सञ्चारसँग सम्बन्धित विभिन्न संघसंस्था तथा सामाजिक संगठनहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रभातफेरीपछि आयोजित संक्षिप्त कार्यक्रममा वक्ताहरूले लामो संघर्षपछि प्राप्त संविधानको संरक्षण र सुदृढीकरणका लागि नागरिक तहबाट निरन्तर खबरदारी आवश्यक रहेको उल्लेख गरे। जेनजी आन्दोलनपछि संविधान संकटमा पर्न सक्ने सम्भावनाबारे चेतावनी दिँदै उनीहरूले राजनीतिक दल तथा सरोकारवालाको ध्यानाकर्षण समेत गराए।

संविधानलाई समयानुकूल संशोधन गर्दै जनताले अझ व्यापक रूपमा स्वीकार गर्न सक्ने बनाउनुपर्नेमा जोड दिँदै वक्ताहरूले राष्ट्रिय एकताको बलियो आधारका रूपमा संविधानलाई जीवन्त राख्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा बल दिए।

कार्यक्रममा मानवअधिकार सञ्जालका अध्यक्ष डा. रूपक खनाल, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले विचार व्यक्त गरेका थिए।

आयोजक संस्थाका तर्फबाट उपाध्यक्ष सुब्रत न्यौपानेले सहभागी संघसंस्थाप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिहरूमा सबैको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन महासङ्घ झापाका सचिव राजु पाठकले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0