शिवसताक्षी । संविधान दिवसको अवसरमा नेकपा (एमाले) शिवसताक्षी नगर कमिटीले शुक्रबार मौन र्याली निकालेको छ । र्यालीले शिवसताक्षीको दूधे बजार परिक्रमा गर्दै संविधानको रक्षाका लागि जनचेतना जगाउने उद्देश्य राखेको थियो।
र्यालीमा सहभागीहरूले “संविधानको रक्षा हाम्रो कर्तव्य”, “संविधान हाम्रो पहिचान”, “संविधान विपरीत कुनै सम्झौता मान्य छैन”, “सशक्त नागरिक सुरक्षित संविधान”, “संविधान नै लोकतन्त्रको आधार” र “संविधान संकटमा देश संकटमा” जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए।

र्यालीपछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद राधाकृष्ण खनालले हालैको जेनजी आन्दोलनपछि संविधानको मर्म र भावना विपरीत सरकार गठन भएको दाबी गरे। उहाँका अनुसार, जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध अघि सारेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न शक्ति घुसपैठ गराइएपछि परिस्थितिलाई अस्वस्थतापूर्ण ढंगले मोडिएको र त्यसपछि संविधानसम्मत अभ्यासलाई कमजोर तुल्याउने कार्य भएको हो।

खनालले हाल संविधानको धारा ६१ प्रयोग गरी संविधानको मर्म विपरित सरकार गठन भएको प्रति प्रश्न उठाउनु भयो । उहाँले अहिले संविधान संकटमा भएकाले सबैले रक्षा गर्नु पर्ने जिकिर गर्नु भयो । तर जनताबाट निर्वाचित प्रतिनिधिहरूले लामो संघर्षपछि निर्माण गरेको संविधानलाई अस्वीकार गरी थोरै व्यक्तिहरूको मिलेमतोमा संविधान पुनरलेखन गर्नेप्रयास जनताको हितमा कदापि नहुने स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य रोषन थोप्राले नेपालीको भावना अनुरुप बनेको संविधानलाई ओझेलमा पार्ने काम भएकोे बताउनु भयो । संविधान सभाको चुनावबाट निर्माण गरेको संविधान सबै जात जाति, भाषा, धर्मवालम्बीहरुको साझा संविधानको रुपमा रहेको छ। उहाँले यस्तो सर्वमान्य संविधान संकटमा परेको र यस्तो अवस्थामा विदेशी शक्तिहरुले नेपाललाई अस्तिर बनाउन सक्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश तथा जिल्ला कमिटी सदस्य, युवा संघका जिल्ला र नगर पदाधिकारी, भातृ संगठनका प्रतिनिधि, विभिन्न जनवर्गीय संगठनका अध्यक्ष तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो













