बिर्तामोड । झापामा नेपाली कांग्रेस र नेकपा एमालेले आज जिल्लाभर संविधान दिवस मनाएका छन् । मौन र्याली गर्दै पालिकाहरुमा दुई राजनीतिक दलहरुले संविधान दिवस मनाएका हुन् ।

विभिन्न आन्दोलन र जेन जी आन्दोलनका शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै झापा जिल्लाभर संविधान दिवस मनाइएको हो । नाराबाजी नगरी कांग्रेस एमालेले संविधान रक्षाको सन्देश दिएको छ ।

नेपाली कांग्रेस र एमालेको बिर्तामोड नगर कमिटीको अगुवाईमा बिर्तामोडमा मौन र्याली गर्दै गरिएको हो । बिर्तामोड परिक्रम गरेको र्याली मुक्तीचोकमा कोणसभा गरेको थियो । कोणसभामा बोल्दै राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटीले संविधानको रक्षाका लागि सचेत नेपाली जनताका फेरि सडकमा आउनुपर्ने अवस्था आएको बताए ।

प्रतिगामीहरुले संविधान सिध्याउने, देश सिध्याउने चलखेल गरिरहेको उनको भनाई थियो । देश बचाउन संविधानको रक्षा गर्नुपर्नेमा जोड दिदैं शिवाकोटीले जेन जीको पवित्रा आन्दोलनमा घुसपैठ भएको बताए । देश विरोधीहरुले घुसपैठ गरेर संविधान मास्ने प्रयास गरेको भन्दै उनले कांग्रेस एमाले जेन जीको पक्षमा रहेको बताए । जेन जीको मागप्रति एमाले सचेत रहेको भन्दै आगामी दिनहरुमा सच्चिएर काम गर्ने उनको धारणा थियो । हामी पनि भ्रष्टाचार र सुशासनको पक्षमा छौं, उनले भने – अब व्यवहारिक परिवर्तन गर्न जेन जी पुस्तासँग हातेमालो गर्दै जानेछौं ।

यस्तै, संविधान सभाका सदस्य एवम् नेपाली कांग्रेसका नेता सुधिर शिवाकोटीले संविधानको रक्षा गरेकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेका छन् । दलकै प्रतिनिधि भएकाले मात्र संविधानको रक्षा भयो, उनले भने – गैरदलीय प्रतिनिधित्व हुन्थ्यो भने राष्ट्रपतिबाट संविधान मासिने निश्चित थियो । शिवाकोटीका अनुसार संविधानमाथि खतरा बढ्दै गएकाले फेरि पनि नेपाली जनता सडकमा आउनुपर्ने हुनसक्छ । उनले जेन जी पुस्ताको जायज मागप्रति प्रमुख राजनीतिक दलहरु जिम्मेवार पूर्वक लाग्नुपर्ने धारणा राखेका थिए । शहिदहरुको सपना पुरा गर्ने दायित्व तर्फ लाग्न उनको सूझाव थियो ।

नेपाली कांग्रेस विर्तामोडका सभापति भोजराज सिटौलाको अध्यक्षतामा भएको मौन र्यालीको सहजीकरण एमालेका नगर अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0