काठमाडौं । भारतको राजस्थानस्थित जयपुरमा रहेको सावई मान सिंह (एसएमएस) सरकारी अस्पतालको ट्रमा सेन्टरमा आइतबार राति लागेको भीषण आगलागीमा परी ६ जनाको ज्यान गएको छ। प्रारम्भिक विवरणअनुसार आगलागीका कारण बिरामीहरू जलेका साथै घना धुवाँको कारण श्वासप्रश्वास रोकिएर मृत्यु भएको बताइएको छ।

अस्पताल प्रशासनले आगो ट्रमा सेन्टरको दोस्रो तल्लामा रहेको आईसीयूको स्टोरेज सेक्शनबाट सुरु भएको र सम्भावित कारण विद्युतीय सर्टसर्किट भएको अनुमान गरेको छ।

राजस्थानकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था मानिने एसएमएस अस्पतालको ट्रमा सेन्टर टोक रोडमा मुख्य भवनको ठीक अगाडि अवस्थित छ। आगलागीका क्रममा न्युरोसर्जरी आइसीयूमा ११ जना र अर्को तलामा १४ जना बिरामी भर्ना थिए। न्युरो आइसीयूमा रहेका दुई महिला र चार पुरुषको मृत्यु भएको पुष्टि गरिएको छ। बाँकी बिरामीहरूलाई कर्मचारी र सुरक्षाकर्मीहरूले उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताइएको छ।

घटनापछि अस्पताल परिसरमा हताशा र त्रास फैलिएको थियो। स्वास्थ्यकर्मी र बिरामीका आफन्तहरूले बेडसहित बिरामीहरूलाई भवनबाहिर निकाल्न बाध्य भएका थिए।

दमकलका गाडी घटनास्थल पुगेपछि झ्याल तोडेर विपरीत दिशाबाट आगो निभाउने प्रयास गरिएको थियो। बाक्लो धुवाँका कारण सुरुवाती चरणमा प्रहरी र उद्धारकर्मीहरूलाई भवनभित्र पस्न कठिनाइ भएको थियो। करिब दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0