शिवसताक्षी । नेपाल शिक्षक महासंघ शिवसताक्षीले बाढी पीडितका लागि संकलित सहयोग रकम शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरेको छ।
आज दुधेमा नेपाल शिक्षक महासंघ शिवसताक्षीको बैठकको क्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले १ लाख २५ हजार रुपैयाँको चेक नगरप्रमुख मेगाहाङ थोप्रालाई हस्तान्तरण गरेका हुन्।

गएको असोज १८ गते आएको अविरल वर्षाका कारण कनकाई माइको बाढीले नगरका विभिन्न क्षेत्रहरू डुबानमा परेपछि शिक्षक महासंघले सहयोग रकम संकलन गरेको थियो। महासंघका अध्यक्ष बेनुप्रसाद कार्कीका अनुसार बाढीले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका पाठ्यपुस्तक, शैक्षिक सामग्री र विद्यालय पोशाकसमेत क्षति पुगेकाले शिक्षकहरूले राहतका लागि सहयोग जुटाएका हुन्।
रकम ग्रहण गर्दै नगरप्रमुख थोप्राले विशेष गरी शिवसताक्षी–७ लालपानीका बासिन्दाहरू सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार हाल नेपाल रेडक्रस, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य संस्थाहरूले राहत वितरण गरिरहेका छन्। “खाद्य सामग्री वितरण भइरहेको छ, तर बाढीले घरभित्र लेदो पसेकाले भात पकाएर खानसमेत कठिन भएको अवस्था छ,” उहाँले भन्नुभयो।

नगरप्रमुख थोप्राले विद्यार्थीहरूको शैक्षिक सामग्री र विद्यालय पोशाक पुनःव्यवस्थापनमा संकलित रकम प्रयोग गरिने जानकारी दिनुभयो। साथै, नगरपालिकाका कर्मचारीहरूले संकलन गरेको रकमबाट ग्यास सिलिन्डर र चुलो वितरण गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो।
नगरपालिकाको विपद् व्यवस्थापन शाखाका कार्यक्रम अधिकृत महेश लामिछानेका अनुसार हालसम्म कर्मचारीहरूबाट १ लाख २८ हजार ५२५ रुपैयाँ संकलन भइसकेको छ भने अझै केही सहयोग संकलन हुन बाँकी छ।
शिवसताक्षी नगरपालिकाका अनुसार हालसम्मको विवरणअनुसार वडा नं. ४, ५, ६ र ७ का गरी २२० घरमा बाढीले क्षति पुर्याएको छ। नगरपालिकाले बाढीबाट करिब १ करोड २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ।













