धनकुटा । धनकुटामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–६ की करिब ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी–७ की करिब ६० वर्षीय डिल्ली बराल रहेका छन् । दुवैजनाको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

घाइते हुनेमा मोरङ केरावारी गाउँपालिका–९ की ६० वर्षीया देवी न्यौपाने, महालक्ष्मी–९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी–७ की ३२ वर्षीया सृजना जिमी, महालक्ष्मी–८ की १७ वर्षीया खुशी लुंगेली, मोरङ सुन्दरहरैंचा–७ का दिलकुमार खड्काकी करिब ८ वर्षीया छोरी अंगीता खड्का, धनकुटा नगरपालिका–४ लोकसेवास्थित ४५ वर्षीया दुर्गा तिम्सिना र बस चालक सुनसरी इटहरी उपमहानगरपालिका–१७ बालग्रामका ५० वर्षीया कुलबहादुर मगर रहेका छन् ।

घाइते चालक मगरको हिले पोलिक्लिनिकमा उपचार पश्चात उनलाई प्रहरी चौकी हिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटना आज बिहान करिब ११:४५ बजे धनकुटा नगरपालिका–३ निगालेस्थित कोशी लोकमार्गमा भएको हो । बिराटनगरबाट महालक्ष्मी नगरपालिका–जीतपुरतर्फ जाँदै गरेको प्रदेश–१–०२–००१ ख ९६०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीको कमाण्डमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थल पुगेर घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल धनकुटामा उपचारका लागि पठाएको थियो । बसमा करिब ३० जना यात्रु सवार रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0