काठमाडौँ । निर्वाचन आयोगले हाल ३२ राजनीतिक दल दर्ता प्रक्रियामा रहेको जानकारी दिएको छ । यीमध्ये २३ दल जेनजी आन्दोलनपछि दर्ता प्रक्रियामा प्रवेश गरेका हुन् भने बाँकी ९ दल पहिले नै सक्रिय थिए । अहिले दर्ताको अधिकार पाउने दलहरूको कुल संख्या १२६ पुगेको आयोगले जनाएको छ।
दर्ता प्रक्रियामा रहेका दलहरूमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, योगेन्द्र मण्डल नेतृत्वको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’को कम्युनिस्ट पार्टी नेपाल, र अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी प्रमुख रूपमा उल्लेख छन् ।
त्यसैगरी, हिराप्रसाद सोतीको राष्ट्रिय जेनजेड पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, नवराज सुवेदीको नवयुग पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी, र गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी पनि दर्ता प्रक्रियामा रहेका छन् ।
यससँगै हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सबिन सिग्देलको राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल, रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी, तथा राजकुमार कक्षपती नेतृत्वको नेकपा (वामपन्थी केन्द्र) का दर्ता निवेदन अध्ययनको प्रक्रियामा रहेको आयोगले जनाएको छ।
अन्य दर्ता निवेदन दिएकामध्ये सुन्दर राम बोहराको आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल, अकबर खानको राष्ट्र निर्माण दल नेपाल, रमनकुमार कर्णको जनादेश पार्टी नेपाल, र प्रशान्त सिंहको पिपुल फस्ट पार्टी रहेका छन्।
त्यस्तै, सन्दीप उप्रेती नेतृत्वको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल र अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल का दर्ता निवेदन पनि आयोगमा पुगेका छन्।
आयोगका अनुसार हर्क साम्पाङको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट विभाजित राष्ट्रिय जनमुक्ति पार्टी, वीरेन्द्र बस्नेतको पहलमा बनेको गतिशील लोकतान्त्रिक पार्टी, र कबिर सोप अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले भने दर्ता प्रक्रिया पूरा गरिसकेका छन्।
दल दर्ताको प्रमाणपत्र लिन आयोगले तोकेको समय अब दुई दिन मात्र बाँकी छ ।













