काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङको प्रयास भएको खुलासा भएपछि प्रहरी सक्रिय भएको छ।
एनपीएलमा खेलिरहेका खेलाडीलाई म्याच फिक्सिङ प्रस्ताव गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया–८ घर भई हाल भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी छन्। दुवैलाई लाजिम्पाट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ।
अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार उनीहरूले खेलाडीलाई ‘रन आउट’ हुन एक करोड रुपैयाँ दिने लोभ देखाएका थिए। तर सो प्रस्ताव अस्वीकार गर्दै खेलाडीले टिम व्यवस्थापन र प्रहरीलाई जानकारी गराएका थिए।
युवतीमार्फत ६–७ खेलाडीलाई प्रस्ताव
प्रहरीले जनाएको अनुसार पक्राउ परेकी रेविका सिंहले इन्स्टाग्राममार्फत एनपीएल खेलिरहेका ६/७ खेलाडीसँग सम्पर्क गरेकी थिइन्। आफू ‘स्पोन्सर’ भएको बताउँदै उनले खेलाडीहरूसँग नजिकिन खोजेकी थिइन्।
सम्पर्कमा आएका खेलाडीहरूमध्ये एक जनाले मात्र उनको म्यासेजलाई जवाफ दिएका थिए।
३० कात्तिकमा रेविका युवक दिलप्रितसहित काठमाडौं आइपुगेकी थिइन्। त्यसपछि सोही खेलाडीलाई पुनः सम्पर्क गर्दै होटलमा भेट्न आग्रह गरिएको थियो। खेलाडीले होटलमै भेट्न सहमति जनाएपछि १ मंसिरमा उनीहरूको प्रत्यक्ष भेट भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
भेटमै खुल्यो ‘एक करोडको डिल’
भेटका क्रममा खेलाडीले “कस्तो स्पोन्सर ?” भनेर सोध्दा दुबैले रन आउट गरिदिएमा एक करोड रुपैयाँ दिने प्रस्ताव खुलाएका थिए। प्रस्ताव मिलेनपछि खेलाडीले तत्कालै आफ्नो टिमलाई जानकारी गराएका थिए। त्यसपछि टिमको सूचनामा आधारित भएर प्रहरी अनुसन्धान अघि बढेको हो।
थप अनुसन्धानका लागि भद्रकाली पठाइयो
सामाजिक सञ्जाल– ह्वाट्सएप र इन्स्टाग्राममार्फत बेटिङ र फिक्सिङ गतिविधि संचालन गर्दै आएका दुवै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिए।
एनपीएलमा यस्तै किसिमको सट्टेबाजी चलाएको आरोपमा यसअघि पनि एक भारतीयसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।












