काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शुक्रबार भएको थ्रिलर खेलमा कर्णाली याक्सविरुद्ध विराटनगरले तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कर्णालीले दिएको १६१ रनको चुनौती विराटनगरले १९.५ ओभरमा सात विकेट गुमाएर १६३ रन बनाउँदै पूरा गर्यो।

अन्तिम ओभरमा विराटनगरलाई १० रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र बसिर अहमेद थिए । पहिलो बलमा बसिरले दुई रन लिए। दोस्रो बलमा एक रन जोड्दा स्ट्राइक सन्दीपकहाँ गयो। तेस्रो बलमा सन्दीपले दुई रन बटुले । तीन बलमा पाँच रन चाहिएको अवस्थामा चौथो बलमा एक रन लिएर बसिरलाई स्ट्राइक फर्काइएको थियो । पाँचौँ बलमा बसिरले छक्का प्रहार गर्दै विराटनगरलाई जित दिलाए।

विराटनगरका बसिर अहमेदले सर्वाधिक ६२ रन बनाए। ४३ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै उनी अन्तिमसम्म अविजित रहे। ६५–५ को अवस्थाबाट बसिरले नारायण जोशीसँग ६९ रनको साझेदारी गर्दै टिमलाई खेलमा फर्काए। नारायणले १६ बलमा दुई चौका र एक छक्कासहित २५ रन जोडे।

१५औँ ओभरमा ९४/५ को दबाबमा रहेका विराटनगरका लागि बसिर र नारायणले १६औँ ओभरपछि आक्रामक खेल्दै १७.४ ओभरसम्म ४० रन जोडे । साहिल पटेलले १९ रन र साम हेजलेटले १३ बलमा १६ रन बनाए।

कर्णालीका सोमपाल कामी र गुल्सन झाले दुई/दुई विकेट लिए। पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले एक/एक विकेट हात पारे।

यसअघिको इनिङमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा तीन विकेटमा १६० रन बनायो । ओपनर पन्चालले ४७ बलमा ६३ रन बनाए। पन्चाल र विलियम बोसिस्टोबीच ९६ रनको साझेदारी भयो। बोसिस्टो ४८ रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए । गुल्सन झाले १० बलमा २० रन जोडे।

विराटनगरका मर्चेन्ट डी लिंगे र कप्तान सन्दीपले एक/एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0