शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका परिवारका युवाहरूलाई उद्यमशिलताको यात्रातर्फ उन्मुख गराउने उद्देश्यले विभिन्न व्यावसायिक तालिमहरू सुरु गरिएको छ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत बारिष्टा, ड्राइभिङ तालिम सञ्चालनमा आएका हुन्।

शिवसताक्षीको दूधेस्थित मिटअप क्याफेमा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिमको औपचारिक सुरुवात गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले कफी संस्कृति विस्तार हुँदै गएकाले बारिष्टा तालिमले रोजगारीको ठूलो सम्भावना बोकेको बताउनुभयो। “देशभित्रै युवाहरूलाई सक्षम बनाई आयआर्जन गर्न सक्ने वातावरण बनाउनेतर्फ नगरपालिका लागिपरेको छ,” उहाँले भन्नुभयो। सो तालिममा अपाङ्गता भएका परिवारका १० जना सहभागी छन्। तालिम १० दिनसम्म सञ्चालन हुनेछ।

यसैबीच, आजैबाट ४९ जना अपाङ्गता प्रभावित युवा-युवतीहरूलाई लक्षित गरी ड्राइभिङ तालिम पनि सुरु गरिएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्त फेउदिनले ड्राइभिङ तालिमको उद्घाटन गर्नुभयो। १५ गतेसम्म सञ्चालन हुने यस तालिमले सहभागीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्ले सहभागीहरूलाई अनुशासन र मर्यादाका साथ तालिम लिन सुझाव दिनुभयो। “नेपालमै होस् या विदेश, यहाँ सिकिएको सीप जीवनभर काम लाग्नेछ,” उहाँले भन्नुभयो।

शिवसताक्षी नगरपालिका लेखा शाखा प्रमुख प्रकाश योङ्हाङ्ले तालिमपछि सबै सहभागी स्वावलम्बी बन्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत भोलिदेखि पाँच दिने अम्लिसो कुच्चो बाँध्ने र अर्ग्यानिक साबुन बनाउने तालिम पनि सुरु हुने भएको छ।

कार्यक्रममा समावेशी अपाङ्गता समितिका अध्यक्ष रमेश भण्डारीले औचित्य माथि प्रकाश पारेका थिए । वारिष्टा तालिम उद्घाटन शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेको अध्यक्षतामा भएको थियो भने, ड्राइभिङ्ग तालिमको उद्घाटन नगरका लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ्गको अध्यक्षतामा भएको थियो । दुवै कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0