शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा ६० जना युवा–युवतीहरूले उद्यमशीलता अभिवृद्धिका लागि वारिष्टा तालिम प्राप्त गरेका छन्। युवा पुस्तालाई सीप सिकाएर स्वरोजगारतर्फ अग्रसर गराउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको उक्त तालिम आज औपचारिक रूपमा सम्पन्न भएको हो।
तालिम यही जेठ २ गतेदेखि सुरु भएको थियो। शिवसताक्षी नगरपालिकाको आयोजना र पूर्वाञ्चल सीप विकास प्रशिक्षण केन्द्र, सुन्दरहरैंचा–मोरङको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको समापन समारोहमा नगरप्रमुख मेगाहाङ थोप्राले नगरभित्रका युवालाई स्वरोजगारमा प्रोत्साहन गर्न यस्ता तालिम आवश्यक रहेको बताए। “सीप र दक्षता भएमा मात्रै कुनै पनि काम सम्भव हुन्छ,” उनले भने, “सीप सिकेर स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले १ लाख रुपैयाँसम्म अनुदान दिने कार्यक्रम ल्याउने तयारीमा छौं।” साथै उनले प्रविधि हस्तान्तरणमार्फत उद्यमशिलता प्रवर्द्धन गरिने जानकारी पनि दिए।
त्यस्तै, उपप्रमुख नरमाया कार्कीले कुनै पनि कामलाई सानो वा ठूलो भन्नु नपर्ने धारणा व्यक्त गर्दै भनिन्, “सानो कामबाट सुरु गरेर ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने थुप्रै उदाहरणहरू छन्। ती उदाहरणहरूबाट हामीले प्रेरणा लिनुपर्छ।”
तालिमको समापनसँगै सहभागीहरूलाई सिटिईभिटी (CTEVT) बाट मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिएको थियो। यद्यपि, सहभागीहरूको आग्रहअनुसार केही थप दिन तालिम सञ्चालन हुने पूर्वाञ्चल सीप विकास केन्द्रका संयोजक डिल्लाराम भट्टराई जानकारी दिए। तालिमको सहजीकरण विएचएम अंकित दाहाल र मनिता तिवारीले गरेका थिए। तालिम शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित दूधेमा सञ्चालन गरिएको थियो।
