बिर्तामोड । झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा बुधबार बिहान भएको बस र पिकअप गाडीको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
आज बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालबहाक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटना ट्राफिक पोस्ट सुरुङ्गाबाट करिब १ किलोमिटर पूर्वतर्फ भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल र बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा भद्रपुर नगरपालिका निवासी १ वर्ष ६ महिनाका आरुति राजवंशीलाई अस्पताल ल्याइपुर्याउनेबित्तिकै चिकित्सकले बिहान १०:१५ बजे मृत घोषणा गरेका हुन्।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, ३ जनाको मध्यम र ६ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
पिकअप गाडी चालक बिर्तामोड नगरपालिका–६ निवासी ३९ वर्षीय जाकिर हुसेनलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा लिइएको छ। दुर्घटनामा संलग्न बसलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ भने बस चालक घटनापछि फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0