शिवसताक्षी । झापा, शिवसताक्षीको दुधे बजारमा आयोजित रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ। सतासीधाम जेसीज, दुधे स्थानीय बजार विकास समिति तथा शिवसताक्षी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।
झापालगायत पूर्वी क्षेत्रका अस्पतालहरूमा देखिएको रगत अभावलाई न्यूनीकरण गर्दै बिरामीहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको सतासीधाम जेसीज वर्ष २०२६ का अध्यक्ष निरोज दुलालले जानकारी दिनुभयो। उहाँले रक्तदान मानव जीवन बचाउने महान कार्य भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह समेत गर्नुभयो।

कार्यक्रममा विभिन्न संघसंस्था, युवा, व्यवसायी तथा सर्वसाधारणले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। सहभागीहरूको सक्रियताले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।
रक्तदान कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले समन्वय गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, दमकले प्रदान गरेको थियो।
आयोजक संस्थाहरूले रक्तदान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै रगत अभावको समस्यालाई समाधान गर्न सामूहिक पहल आवश्यक रहेको बताएका छन्। साथै, रक्तदानबाट कुनै कमजोरी नआउने भएकाले योग्य नागरिकलाई नियमित रक्तदान गरी मानव जीवन बचाउने अभियानमा सहभागी हुन आग्रह गरेका छन्।












