विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुमका जिल्ला कार्यसमिति, सबै स्थानीय तहका कमिटी तथा वडा तहका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।

आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टी केन्द्रले जिल्लाको भावना, स्थापित विधि र आन्तरिक सहमतिलाई बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले पदत्याग गरेका हुन्। केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्रमा केन्द्रले मनोमानी ढंगले उम्मेदवार चयन गरेको उल्लेख छ।

राजीनामा पत्रअनुसार ‘अवेयर तेह्रथुम’ का संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई ‘घण्टी’ चुनाव चिह्नसहित साझा उम्मेदवार बनाउने विषयमा जिल्लास्तरमा व्यापक राजनीतिक सहमति भएको थियो। तर उक्त सहमतिको अवहेलना गर्दै पार्टी केन्द्रले जिल्ला र प्रदेश समितिको भावनाविपरीत अमूक व्यक्तिलाई टिकट दिएको उनीहरूको दाबी छ।

‘पार्टीले स्वयं पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर निर्णय लिइँदा पार्टीको विधि र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठेको छ। यसले तेह्रथुमको जनभावना र स्थानीय राजनीतिक सहमतिमा गम्भीर क्षति पुगेको छ,’ राजीनामा पत्रमा भनिएको छ।

सामूहिक राजीनामा दिनेहरूमा जिल्ला कार्यसमिति सभापति इन्जिनियर सुमन खत्री, म्याङलुङ नगरपालिकाका संयोजक गणेश खापुङ, लालीगुराँस नगरपालिकाका सभापति सुमन लिम्बु, मेन्छ्यायेम गाउँपालिकाका संयोजक छात्रबहादुर थापा, छथर गाउँपालिकाका सचिव विष्णु एस कटुवाल, फेदाप गाउँपालिकाका संयोजक लक्ष्मण थापा र आठराई गाउँपालिकाका सभापति चेतन गौतम रहेका छन्।

त्यस्तै, तेह्रथुम–काठमाडौं सम्पर्क विभागका संयोजक गुणनिधि दाहालसहित जिल्लाका सबै पालिका र वडा कमिटीका पदाधिकारीहरूले पनि सामूहिक रूपमा राजीनामा बुझाएका छन्। केन्द्रसँग भएको सहमति कार्यान्वयन गर्न नसकेकोमा नैतिक जिम्मेवारी लिँदै आफूहरूले पदबाट अलग हुने निर्णय गरेको उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0