शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा शिवसताक्षी नगरपालिकालाई पराजित गर्दै दमक नगरपालिकाले प्रभावशाली जित दर्ता गरेको छ।
निर्धारित खेलमा दमकले शिवसताक्षीलाई ३–० गोलअन्तरले हरायो। दमकको जितमा जर्सी नम्बर ८ का खेलाडी दिपेन्द्र घिमिरे, जर्सी नम्बर १८ का खेलाडी भोजकुमार थुलुङ र जर्सी नम्बर १३ का खेलाडी रोशन तामाङले १–१ गोल गरे। उत्कृष्ट प्रदर्शनका आधारमा दिपेन्द्र घिमिरे ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो खेलमा हल्दिबारी गाउँपालिका सहभागी हुन नआएपछि बाह्रदशी गाउँपालिका वाकओभरका आधारमा अर्को चरणमा प्रवेश गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ।
प्रतियोगिता अन्तर्गत माघ १२ गते दुई खेल सञ्चालन हुनेछन्। पहिलो खेल बिहान ११ः३० बजे कनकाई नगरपालिका र कचनकवल गाउँपालिकाबीच तथा दोस्रो खेल दिउँसो २ः३० बजे मेचीनगर नगरपालिका र गौरीगन्ज गाउँपालिकाबीच हुने आयोजकले जानकारी दिएको छ।
तालिका अनुसार माघ १३ गते सेमिफाइनल र माघ १४ गते फाइनल खेल सञ्चालन हुनेछन्। प्रतियोगिता माघ ९ गतेदेखि शिवसताक्षी नगरपालिका–स्थित दूधे रंगशालामा जारी छ।












