अर्जुनधारा । बुद्धशान्ति गाउँपालिकाको टिमले झापाको अर्जुनधारामा आयोजित पालिकास्तरीय यू–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अर्जुनधारा खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकासँग निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमा प्रतिस्पर्धा गरी बुद्धशान्तिले ४–२ गोलअन्तरले विजयी बनेको हो।
टाइब्रेकरमा बुद्धशान्तिका गोलकिपर रिजन ल्वागुन निर्णायक बने। उनले मेचीनगरका सुजल धिमाल र सागर बर्देवाको प्रहार रोक्दै टिमलाई उपाधितर्फ अग्रसर बनाए। मेचीनगरका राजु दर्जी र सुजन बेसराको प्रहार मात्र गोलमा परिणत भएको थियो। यसअघि भएका दुई खेलमा पनि रिजनले टाइब्रेकरमा विपक्षीका प्रहार रोक्दै बुद्धशान्तिलाई फाइनलसम्म पुर्याएका थिए।
बुद्धशान्तिका लागि अंशु लिम्बू, अनिल गिरी, जेनितज बराल र मनिष केदेमले गोल थपे। गोलकिपर रिजन ल्वागुनले प्लेयर अफ द म्याचको उपाधि पाउँदै नगद दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरे। खेलको बेस्ट गोलकिपर पनि रिजन ल्वागुन भए।
बेस्ट डिफेन्डर अनिल गिरी, बेस्ट मिडफिल्डर सुरज लिम्बू र बेस्ट फरवार्ड मेचीनगरका नयन प्रधान घोषित भए। उनीहरूले जनही पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक बुद्धशान्तिका सन्तोष बस्नेत घोषित भए र उनले नगद पाँच हजार रुपैयाँ पाए। खेलको सर्वोत्कृष्ट खेलाडी बुद्धशान्तिका सन्दिप लिम्बू भए, जसले नगद आठ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
शनिश्चरे फुटबल क्लबका सदस्य दिपेश धिमाललाई २०८१ को उत्कृष्ट खेलाडी घोषणा गर्दै माउन्टेन साइकल प्रदान गरिएको थियो।
प्रतियोगिता शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा सम्पन्न भएको हाे। फाइनल खेलको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन रहनुभएको थियो। कार्यक्रम टेकराज तिलिङको अध्यक्षतामा सम्पन्न भएको थियो।












