काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। छायांकनका लागि बिहानै निस्कनुपर्ने तयारीमा रहेका थापाको असामयिक निधनले नेपाली सिने जगत शोकमा डुबेको छ।

नेपाली फिल्ममा खलनायक भूमिकालाई नयाँ उचाइमा पुर्‍याएका थापा ‘चिनो’ फिल्मको राते काइँला चरित्रबाट विशेष रूपमा परिचित थिए। उनको अभिनयले नेपाली सिनेमामा खलनायक पात्रलाई गम्भीर, बौद्धिक र विश्वसनीय बनाउने नयाँ परम्परा स्थापना गर्‍यो।

१९ मे १९५७ मा जन्मिएका थापाले मोडलिङबाट करिअर सुरु गर्दै नेपाली र भारतीय फिल्म तथा सिरिज क्षेत्रमा चार दशकभन्दा बढी योगदान दिए। उनले बलिउड फिल्म ‘मेरी कम’ मा समेत अभिनय गरेका थिए, जसका लागि फिल्मफेयर अवार्डमा मनोनयनसमेत पाएका थिए।

अहिलेसम्म १३८ भन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका थापाको पछिल्लो रिलिज फिल्म ‘एक्लो’ हो भने ‘पहाड’ रिलिजको तयारीमा छ। खलनायक मात्र नभई मार्गदर्शक, अनुभवी र जटिल पात्रहरूमा समेत सशक्त अभिनय गरेका थापा भर्सटाइल अभिनेताका रूपमा चिनिन्थे।

उनको निधनले नेपाली चलचित्र क्षेत्रले एक सशक्त कलाकार गुमाएको छ। उनको योगदान र अभिनय नेपाली सिने इतिहासमा सदैव स्मरणीय रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0