मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो।
कुशल भुर्तेल (२९) र आसिफ शेखले राम्रो सुरुवात दिलाए पनि मध्यक्रममा दीपेन्द्र सिंह ऐरी (४४) र कप्तान रोहित पौडेल (३९) बाहेक अन्य ब्याटरले अपेक्षित योगदान दिन सकेनन्। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा नेपाल जित नजिक पुगेर पनि चुक्यो।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। ज्याकब बेथेलले ५५ र कप्तान ह्यारी ब्रूकले ५३ रनको अर्धशतकीय इनिङ्स खेले भने विल ज्याक्सले अविजित ३९ रन जोड्दै टोलीलाई प्रतिस्पर्धी स्कोरमा पुर्याए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए।












