एजेन्सी । भारतको ओडिशा राज्यमा मानव संवेदनालाई नै झकझक्याउने एक असामान्य घटना सार्वजनिक भएको छ। केओँझर जिल्ला मा सोमबार घटेको उक्त घटनाले सामाजिक सञ्जालदेखि प्रशासनिक तहसम्म व्यापक बहस सिर्जना गरेको छ।

स्थानीय आदिवासी समुदायका जीतू मुन्डा आफ्नी मृत बहिनी कलारा मुन्डा को बैंक खाताबाट रकम निकाल्न असफल भएपछि अन्ततः कंकाल बोकेर बैंक पुग्न बाध्य भए। उनले करिब ३ किलोमिटर पैदल हिँड्दै बहिनीको कंकाल काँधमा बोकेर ओडिशा ग्रामिण बैंक को मल्लिपसी शाखामा पुर्‍याएका थिए।

जीतूले बहिनीको खाताबाट २० हजार रुपैयाँ झिक्न बारम्बार प्रयास गरेका थिए। तर बैंक कर्मचारीहरूले खातावालाको अनिवार्य उपस्थितिको माग गर्दै उनलाई पटक–पटक फर्काएका थिए। उनले बहिनीको मृत्यु भइसकेको जानकारी दिँदासमेत प्रक्रिया सहज नबनाइएपछि उनी चरम निराशामा पुगेका थिए।

घटनास्थलमा कंकाल देखिएपछि बैंकभित्र एकछिन अफरातफरी मच्चिएको थियो। त्यसपछि प्रहरी बोलाइयो। प्रहरीका अनुसार जीतू अशिक्षित छन् र ‘नोमिनी’ वा ‘कानुनी वारिस’ जस्ता प्रक्रिया बारे अनभिज्ञ थिए। उता बैंक पक्षले पनि मृत व्यक्तिको खाताबाट रकम निकाल्ने प्रक्रिया स्पष्ट रूपमा बुझाउन नसकेको स्वीकारेको छ।

प्रहरीको पहलमा अब उनलाई आवश्यक कागजात मिलाएर रकम उपलब्ध गराउने आश्वासन दिइएको छ। साथै, घटनापछि कंकाललाई पुनः विधिपूर्वक चिहानमा गाडिएको जनाइएको छ।

उक्त घटनाले केवल एक व्यक्तिको पीडा मात्र उजागर गरेको छैन, बरु बैंकिङ प्रणाली र प्रशासनिक प्रक्रियाले साधारण नागरिकलाई कति जटिलतामा पार्न सक्छ भन्ने गम्भीर प्रश्नसमेत उठाएको छ। आर्थिक रूपमा कमजोर जीतूका लागि त्यो रकम जीवनयापनको आधार भएकोले उनले यस्तो असामान्य कदम चाल्नुपरेको स्थानीयहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0