बिर्तामोड । आयोजक टोली झापा–११ फुटबल क्लबले कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो क्वार्टर फाइनल खेलमा सिक्किम (भारत) को सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै झापा–११ अघिल्लो चरणमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापा–११ का रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गरे । सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गरे पनि सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले बचाए । दिपेश क्षेत्रीको प्रहार भने पोस्ट बाहिरिएको थियो ।

खेल अवधिभर झापा–११ ले विपक्षीमाथि दबाब कायम राख्यो । झापाका आधा दर्जनभन्दा बढी अवसर खेर गए । खेलको २८ औँ मिनेटदेखि झापाले आक्रमण तीव्र बनाएको थियो । विदेशी खेलाडी ओलावाले अफिजले डिबक्सबाट गरेको शक्तिशाली प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले उत्कृष्ट बचाउ गरेका थिए ।
३८ औँ मिनेटमा समिर तामाङको प्रहार र ४९ औँ मिनेटमा गोलकिपर बिट भइसकेपछि गरिएको हेडर गोलमा परिणत हुन सकेन । खेलको अन्त्यतिर मौसम सुब्बाले गरेको प्रहारलाई पनि सिङलिङका गोलकिपरले पञ्च गर्दै रोकेका थिए । ५९ औँ मिनेटमा सिङलिङका कप्तान उत्तम राईले वान–टु–वान अवसर पाए पनि गोल गर्न असफल भए ।
खेलको प्लेयर अफ द म्याच झापा–११ का गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
भोलि मंगलबार हुने दोस्रो क्वार्टर फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल, पोखराबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछ । साथै उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।












