बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि साधारण तारेख तोक्नु व्यावहारिक रूपमा अर्थहीन भएको बताएका छन्।
भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले यति महत्वपूर्ण संवैधानिक विषयमा अदालतले समयमै निर्णय दिन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, यस्तो जटिल अवस्थामा सर्वोच्चबाट समयमै फैसला आउनुपर्ने भए पनि ढिलाइ हुँदा न्यायको सार नै कमजोर हुने अवस्था सिर्जना भएको छ।
उनका अनुसार निर्वाचनपछि आउने फैसला “म्याद गुज्रिएको औषधि” सरह हुने भन्दै त्यसले व्यवहारिक अर्थ नराख्ने टिप्पणी गरे। उनले भने, ढिलो निर्णयले अधिकतम सैद्धान्तिक नजिर स्थापना गर्न सक्छ, तर त्यसले तत्कालीन न्यायिक आवश्यकता पूरा गर्न सक्दैन।
ओलीले भदौ २३–२४ मा भएका आगजनी, लुटपाट, तोडफोड तथा हिंसात्मक घटनाप्रति पनि चिन्ता व्यक्त गरे। सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय, निजी संघसंस्था, औद्योगिक प्रतिष्ठान तथा राजनीतिक दलका संरचनामाथि भएको आक्रमणलाई उनले आपराधिक मनोवृत्तिको संज्ञा दिए।
घटनामा मानवीय क्षति भएको उल्लेख गर्दै उनले यसलाई अत्यन्त दुःखद अवस्था बताएका छन्। उनले देशको सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्दै राजनीतिक रूपमा सुदृढ र आर्थिक रूपमा आत्मनिर्भर राष्ट्र निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए।












