काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै व्यक्त गरेका हुन् ।
सभापति थापाका अनुसार विकासको गति सुधार गर्न कानुनी संरचना र प्रक्रियामा सुधार आवश्यक छ। ‘चाँडो काम नगरे रुखमा झुन्ड्याइदिन्छु’ भन्ने अभिव्यक्ति सुनिन थालेको भन्दै उनले यस्ता सोचहरूले विकासलाई गति नदिने र दुर्घटना निम्त्याउन सक्ने बताए ।
केही दिनअघि रास्वपाले धनगढीमा आयोजित चुनावी सभामा २ वर्षमा सक्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको र डेढ वर्षमै काम सक्ने सम्भावना उल्लेख गर्दै समयमै काम नगर्ने ठेकेदारलाई ‘रुखमा झुन्ड्याइदिने’ अभिव्यक्ति दिएका थिए । यसलाई प्रतिवाद गर्दै सभापति थापाले कसैलाई डर देखाएर मात्र विकास बढ्दैन भने ।
उनले देशमा सुधार, सुशासन र गुणस्तरीय विकास आवश्यक रहेको भन्दै विधिको मूल्यभन्दा बढी लहडमा आधारित सोचले काम समयमा नहुने बताएका छन् ।
सभापति थापाले सडक, पुल, सिँचाइको नहर जस्ता पूर्वाधार अवलोकन गर्दै अवरोध भएका ४१ वटा कानुनको उदाहरण समेत प्रस्तुत गरे । उनले गुणस्तरीय र छिटो काम गर्ने व्यक्तिलाई ठेक्का दिने कानुन नबन्दा काम समयमा नसक्ने समस्या भएको बताए ।
ऊर्जा योजना सम्बन्धमा एक प्रवर्द्धकले लाइसेन्स पाएपछि २७ वटा ढोकामा जानुपर्ने बाध्यता हुँदा दुई वर्ष अतिरिक्त समय लाग्ने बताउँदै, एक ठाउँमा गए पुग्ने कानुन बनाएपछि मात्रै कामको गति सुरु हुने उनको भनाइ छ ।












