पछिल्लो समय नेपाली राजनीतिक बहसको शैली र भाषा दुवै बदलिँदै गएको अनुभूति हुन्छ। आफूलाई “नयाँ” भन्ने राजनीतिक धारका केही कार्यकर्ता र शुभेच्छुकहरू परिवर्तनका चर्का नारा लगाइरहेका छन्।
परिवर्तनको चाहना स्वाभाविक हो, आवश्यक पनि हो। तर परिवर्तनको भाष्य निर्माण गर्ने क्रममा “पुराना” भनिएका दलहरूलाई समर्थन गर्ने नागरिक र कार्यकर्तालाई “मासुभाते” जस्ता शब्दले सम्बोधन गर्ने प्रवृत्ति बढ्दो देखिन्छ। विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता दलका समर्थकमाथि यस्तो आरोप प्रत्यारोप सामाजिक सञ्जालमा बारम्बार देखिन्छ।लोकतन्त्रको सुन्दरता नै विविधतामा छ।
विचार फरक हुनु लोकतन्त्रको कमजोरी होइन, बल हो। हरेक नागरिकलाई आफ्नो राजनीतिक आस्था राख्ने, समर्थन गर्ने र आलोचना गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ। तर फरक मत भएकै कारण कसैलाई अपमानजनक उपनाम दिनु, गालीगलौज गर्नु, फेक एकाउन्ट बनाएर चरित्रहत्या गर्ने प्रयास गर्नु यी सबै लोकतान्त्रिक अभ्यासका संकेत होइनन्। यी असहिष्णुताका लक्षण हुन्। भाषाको राजनीति र मनोबलमा असर शब्द केवल अभिव्यक्ति होइन, संस्कारको दर्पण पनि हो। “मासुभाने” जस्ता शब्द प्रयोग गर्दा त्यसले लक्षित व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउँछ।
वर्षौँदेखि आफ्नो विचार र संगठनप्रति निष्ठावान भएर काम गरेका इमानदार कार्यकर्तालाई एउटै बर्गमा राखेर अपमान गर्नु न्यायसंगत होइन। राजनीति केवल नेताहरूको मात्र हुँदैन गाउँ टोलमा संगठन सम्हाल्ने, चुनावमा खटिने, समाजसेवामा लाग्ने हजारौँ कार्यकर्ताको श्रम र विश्वासले दलहरू टिकेका हुन्छन्। तीमध्ये सबैलाई स्वार्थी वा लाभका लागि मात्र लागेको भनेर चित्रण गर्नु वास्तविकताप्रति अन्याय हो। भाषिक आक्रमणले केवल व्यक्तिलाई होइन, समग्र संवाद संस्कृतिलाई असर गर्छ। जब बहस मुद्दाबाट हटेर व्यक्तिमाथि केन्द्रित हुन्छ, तब तर्क र तथ्य ओझेलमा पर्छन्।
परिणामत समाज ध्रुवीकृत हुन्छ ।एक पक्षले अर्को पक्षलाई सुन्नै नचाहने अवस्था सिर्जना हुन्छ। यस्तो वातावरणमा सहमति, सहकार्य र समन्वय कमजोर बन्छ। आज परिवर्तनको बहस प्राय सामाजिक सञ्जालमा सीमित देखिन्छ। पोस्ट, कमेन्ट र लाइकको संख्याले जनसमर्थनको मापन गर्न खोजिन्छ। तर वास्तविक परिवर्तन भर्चुअल संसारमा होइन, व्यवहारमा देखिनुपर्छ। यदि सामाजिक सञ्जालमै असहिष्णुता, गालीगलौज र तिरस्कारको भाषा हाबी हुन्छ भने त्यो परिवर्तनको संकेत होइन, असहिष्णुताको विस्तार हो। प्रश्न उठ्छ यदि चुनाव अगाडि नै फरक मतप्रति यस्तो असहिष्णुता देखिन्छ भने जिम्मेवारी र शक्ति हातमा आएपछि कस्तो राजनीतिक संस्कार स्थापित हुनेछरु नेतृत्वको मूल्यांकन भाषणले होइन, व्यवहारले हुन्छ। परिवर्तनको दाबी गर्नेहरूले पहिले आफ्नै आचरणबाट उदाहरण प्रस्तुत गर्नुपर्छ। “पुराना” दलका सबै कार्यकर्ता भ्रष्ट वा अवसरवादी हुँदैनन्, जसरी “नयाँ” दलका सबै कार्यकर्ता पूर्णरूपमा स्वच्छ र आदर्शवादी हुँदैनन्। असल र खराब दुवै प्रवृत्ति हरेक संगठनमा हुन्छन्। त्यसैले दल होइन, प्रवृत्तिको आलोचना गरिनुपर्छ।
व्यक्तिको आस्था बदल्न गालीले होइन, तर्क र कार्यदक्षताले सकिन्छ। हामीले बिर्सनु हुँदैन राजनीति कुनै एक पुस्ता वा एक विचारको एकाधिकार होइन। लोकतन्त्र भनेको सहअस्तित्वको अभ्यास हो। फरक मतलाई सम्मान गर्न सक्नु नै राजनीतिक परिपक्वता हो। असहमति राख्नु स्वाभाविक हो, तर असहिष्णु हुनु घातक हो। परिवर्तनको साँचो अर्थ सत्ता परिवर्तन मात्र होइनस सोच, व्यवहार र संस्कारको सुधार हो। यदि हामी साँच्चिकै नयाँ राजनीतिक संस्कार चाहन्छौँ भने भाषा सभ्य हुनुपर्छ, बहस तथ्यमा आधारित हुनुपर्छ, र फरक मतप्रति सम्मान हुनुपर्छ। अरूको विचारलाई अपमान गरेर आफ्नो विचार बलियो हुँदैन। बरु त्यसले आफ्नै स्तर देखाउँछ। लोकतन्त्र जोगाउने पहिलो सर्त नै पारस्परिक सम्मान हो। त्यसैले परिवर्तन चाहने हो भने, सुरुवात आफ्नै शब्द र व्यवहारबाट गरौँ। नाराले होइन, संस्कारले परिवर्तन प्रमाणित हुन्छ।












