काठमाडौं  । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन राष्ट्रिय अनुसन्धान विभागले देशभर १८०० जनशक्ति परिचालन गरेको छ।

विभागका प्रवक्ता टेकबहादुर तिमल्सिनाका अनुसार भौतिक तथा प्राविधिक दुवै माध्यमबाट सूचना संकलन गर्ने गरी टोलीहरू सक्रिय बनाइएको छ। निर्वाचनको सन्दर्भमा हुन सक्ने सुरक्षा चुनौतीको पूर्वआकलन गर्दै संदिग्ध गतिविधि, सीमापार आवागमन, राजनीतिक तथा गैरराजनीतिक गतिविधिको निगरानी र विश्लेषणलाई तीव्र बनाइएको उनले जानकारी दिए।

निर्वाचन आचारसंहिता लागू भएसँगै विभागले संगठनात्मक संरचना पनि सुदृढ बनाएको छ। चार जना प्रमुख अनुसन्धान अधिकृत (डीएसपी)लाई उप अनुसन्धान निर्देशक (एसपी)मा बढुवा गरिएको छ। बढुवा हुनेमा रोशन केसी, विनोद दुवाडी, विजय चतुर्वेदी र योगेन्द्र चन्द रहेका छन्। प्रवक्ता तिमल्सिनाका अनुसार यो बढुवा निर्वाचन आयोग नेपालको सहमतिमा गरिएको हो।

बढुवा भएका अधिकारीहरूलाई विभिन्न प्रदेश तथा केन्द्रीय कार्यालयमा जिम्मेवारी दिइएको छ। रोशन केसी सिंहदरबारस्थित मुख्यालयमा, योगेन्द्र चन्द सुदूरपश्चिम प्रदेशमा, विजय चतुर्वेदी लुम्बिनी प्रदेशमा र विनोद दुवाडी बागमती प्रदेशमा गुप्तचरी कार्यमा खटिएका छन्।

विभागले गुप्तचर अनुसन्धानका क्रममा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। मोबाइल ट्र्याकिङसहितका अत्याधुनिक उपकरणमार्फत संभावित आपराधिक गतिविधि तथा सुरक्षा चुनौतीबारे निरन्तर निगरानी राखिएको छ। साथै आवश्यक व्यक्तिहरूको गतिविधि विश्लेषण, बाह्य चुनौतीको मूल्याङ्कन र विशिष्ट व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान केन्द्रित गरिएको छ।

“उपलब्ध सबै प्रविधि र विधिको प्रयोग गर्दै सुरक्षित, निष्पक्ष र व्यवस्थित निर्वाचन सम्पन्न गराउन विभाग केन्द्रित छ,” प्रवक्ता तिमल्सिनाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0