चितवन । चितवनको कालिका नगरपालिकाको वडा नम्बर ९ मा अटो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका न।पा।९ दब्यटारमा पर्ने भित्री सडक खण्डमा उर्पदाङगढीबाट शक्तिखोर तर्फ आउदै गरेको बा प्र.०६–००१ह०३१५ नं–को अटो आफै अनियन्त्रित भई नालामा पल्टिएको थियो ।
दुर्घटनामा चार जनाको मृत्यु र एक जना घाइते भएका हुन् । चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र अधिकारीका अनुसार अटो चालक राप्ती ९ घर भएका ३९ वर्षीय पुर्ण विकको उपचारको क्रममा मृत्यु भएको छ ।
त्यसैगरि गम्भीर घाइते भई अस्पताल पुर्याइएका राप्ती नगरपालिका ८ बस्ने बर्ष ५६ को बिष्णु कुमारी तामाङ, राप्ती ९ की २२ वर्षीया बिनी तामाङ र सोही स्थानका ५५ वर्षका तिलक तामाङ उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएकी राप्ती ९ बस्ने बर्ष ५३ कि चिनीकुमारी गुरुङको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको भरतपुरस्थित पुरानो कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।












