झापा । चलचित्र पत्रकार सङ्घ नेपाल झापा शाखाले आफ्नो प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। झापाको बिर्तामोडमा सम्पन्न अधिवेशनले एकराज प्रधानको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा सुरज प्रधान, सह–सचिवमा अभिषेक धमला तथा कोषाध्यक्षमा अस्मिता साँखी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा भरत प्रसाई, रवि किरण बान्तवा, सरोज भट्टराई, टिकाराम बास्तोला, देवीचन्द्र बास्कोटा, राजेश आचार्य, सोफिया खड्का, सन्देश सहनी, वीरेन्द्र तिवारी, सबिना लिम्बु र सपना रिमाल रहेका छन्।
अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा सुनिता तामाङ र विकिरण बान्तवालाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिका रूपमा रमेश तिवारी, विष्णुकुल श्रेष्ठ, सुनिरा मैनाली, सन्तोष न्यौपाने, सन्तोष शर्मा र उद्धव पुरी चयन भएका छन्।
चलचित्र पत्रकार सङ्घ नेपाल झापा शाखाका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक नरेन्द्र बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा झापा शाखाकी सदस्य सुनिता तामाङले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको औचित्यमाथि सभाध्यक्ष तिवारीले प्रकाश पार्नुभएको थियो।

अध्यक्ष तिवारीले मुलुकको राजनीतिक अवस्था तथा प्राकृतिक प्रकोपका कारण आफ्नो कार्यकालमा अपेक्षाअनुसार काम गर्न नसकिएको स्वीकार गर्दै पछिल्लो समय चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारहरूको सक्रियता भने उल्लेखनीय रूपमा बढेको बताउनुभयो। उहाँले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै झापाली पत्रकारहरूको साथ र सहयोग सधैं पाएको उल्लेख गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले चलचित्र पत्रकारहरूको सन्तुलित समीक्षा हुँदाहुँदै पनि कतिपय निर्माता तथा निर्देशक असन्तुष्ट हुने गरेको टिप्पणी गर्नुभयो। उहाँले पत्रकारहरूको समीक्षा र समाचारकै कारण धेरै चलचित्र सफल भएको तथ्य निर्माता–निर्देशकहरूले बिर्सन नहुने उल्लेख गर्दै कलाकार, निर्माता र पत्रकारको संयुक्त प्रयासले मात्रै चलचित्रको प्रभावकारी प्रचार सम्भव हुने बताउनुभयो।
त्यसैगरी चलचित्र पत्रकार सङ्घ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राईले चलचित्र पत्रकारिता आफैंमा सुन्दर र रोचक क्षेत्र भएकाले पछिल्लो समय यसप्रति आकर्षण बढ्दै गएको बताउनुभयो। उहाँले पत्रकारितालाई राजनीतिभन्दा माथि राखेर सन्तुलित र जिम्मेवार ढंगले काम गर्नुपर्ने सुझाव दिँदै कोशी प्रदेशमै झापाले अधिवेशन सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
नेपाल चलचित्रकर्मी सङ्घ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले कोशी प्रदेशमा बलिउडका भारतीय चलचित्रहरू समेत छायांकन भइरहेकाले यहाँको कला, संस्कृति र प्राकृतिक सुन्दरता विश्व समुदायसम्म पुग्ने क्रम बढिरहेको बताउनुभयो। उहाँले त्यसको प्रभावकारी प्रचार–प्रसारका लागि चलचित्र पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो।












