शिवसताक्षी  । सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शिवसताक्षी नगरपालिका–१ स्थित श्री नाम्विङ बोर्डिङ स्कुलको भवनमा सम्पन्न भएको छ।

मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित “सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना” अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका साथै फिर्ती आप्रवासीहरूलाई स्थानीय स्तरमै पुनःस्थापनामा सहयोग पुर्‍याउनु रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

अभिमुखीकरणमा विद्यालयका अभिभावक, स्थानीय समुदायका फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वदेशमै स्वरोजगारमुखी कार्यमा लाग्न प्रेरित गर्नुका साथै वैदेशिक रोजगारीमा जानु परेमा सीप सिकेर दक्ष जनशक्ति बनेर नेपाल सरकारले तोकेका मापदण्ड पूरा गर्दै सुरक्षित रूपमा जानुपर्ने विषयमा जोड दिइएको थियो।

यसैगरी, वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सावधानी, विदेशमा रहँदा अपनाउनुपर्ने सुरक्षा उपाय, स्थानीय तहका रोजगार सेवा केन्द्रले प्रदान गर्ने सेवा, श्रम तथा सामाजिक सुरक्षा कोष, श्रमिक कल्याणकारी कोष लगायतका विषयमा जानकारी दिइएको थियो। साथै वैदेशिक रोजगारीका क्रममा आइपर्ने समस्याहरूको समाधानका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूको भूमिकाबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो।

परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलका अनुसार कार्यक्रम सुरक्षित वैदेशिक रोजगारीबारे सचेतना अभिवृद्धि गर्ने र सम्भावित ठगीबाट जोगिन प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

कार्यक्रममा ६३ जनाको सहभागिता रहेको थियो। विद्यालयका शिक्षक पुष्प पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण शिवसताक्षी नगरपालिकाका रोजगार शाखा संयोजक बिदुर तिम्सिनाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0