काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेलगत्तै स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। स्वास्थ्य परीक्षणपछि उनलाई अस्पतालको एनेक्स–वान भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।
पक्राउपछि बिहानै अस्पताल पुर्याइएका ओलीलाई सुरुवातमा ‘रेड एरिया’को २७ नम्बर बेडमा राखेर प्राथमिक परीक्षण गरिएको थियो। नेफ्रोलोजी विशेषज्ञ डा. रविन नेपाली नेतृत्वको टोलीले उनको मिर्गौला सम्बन्धी अवस्था जाँचेको थियो भने मुटुसम्बन्धी विशेषज्ञले पनि थप परीक्षण गरेका थिए। रगत परीक्षण, भिडियो एक्स–रे लगायतका आवश्यक जाँचपछि मात्रै उनलाई विशेष निगरानीसहित एनेक्स–वानमा सारिएको हो।
ओलीलाई अस्पतालको अर्को भवनमा सार्दा उनकै निजी सवारी साधन प्रयोग गरिएको जनाइएको छ। ५०१ नम्बर बेड सामान्यतया मिर्गौला प्रत्यारोपण गरिएका बिरामीका लागि छुट्याइएको हुन्छ। ओली यसअघि दुईपटक मिर्गौला प्रत्यारोपण गराइसकेका व्यक्ति हुन्।
उता, ‘जेनजी आन्दोलन’का क्रममा भएको दमनसँग सम्बन्धित फौजदारी मुद्दामा कारबाही सिफारिस भएपछि प्रहरीले उनलाई आज बिहान भक्तपुरस्थित गुण्डु निवासबाट नियन्त्रणमा लिएको हो। यसै प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन्।
शनिबार सार्वजनिक बिदा परेकाले दुवैलाई आइतबार मात्रै अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।












