शिवसताक्षी । स्तनपान गराइरहेका आमाहरूको स्वास्थ्य प्रवर्द्धन र शिशुको पोषण सुधार गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिकामा दुग्धवर्धक औषधि वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

दुधे आयुर्वेद औषधालयको आयोजनामा २०८२ साल चैत्र ११ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम नगरभित्रका ६ वटा खोप केन्द्रमार्फत सञ्चालन गरिएको हो। कार्यक्रममा ११५ जना स्तनपायी आमाहरूलाई दुग्धवर्धक औषधि वितरण गरिएको आयोजकले जनाएको छ।

वितरण गरिएका औषधिहरूमा सतावरी चूर्ण, ज्वानो चूर्ण तथा दशमूल तेल लगायत रहेका छन्। यसका साथै सहभागी आमाहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तनपानको महत्त्व, सन्तुलित पोषण, तथा आमा–शिशु स्वास्थ्यसम्बन्धी विषयमा अभिमुखीकरणसमेत गरिएको थियो।

कार्यक्रममा दुधे आयुर्वेद औषधालयका प्राविधिक टोलीले स्थलगत रूपमा सेवा प्रदान गरेका थिए। टोलीमा कविराज निरीक्षक राजेन्द्र पोखरेल, वैद्य निरीक्षक विष्णु घिमिरे, ल्याब असिस्टेन्ट भद्रकला पौडेल तथा अभ्यंगकर्ता निसम नेमाङ लगायतको सक्रिय सहभागिता रहेको थियो।

त्यसैगरी, कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वडा अध्यक्षहरू, नगर उपप्रमुख नरमाया कार्की तथा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे लगायतको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजक दुधे आयुर्वेद औषधालयले जनाएको छ।

स्थानीय तहमा सञ्चालित यस्ता कार्यक्रमले आमाहरूको स्वास्थ्यमा सुधार ल्याउनुका साथै शिशुको पोषण अवस्थालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0