बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकाले निजी विद्यालयका लागि मासिक शुल्क निधारण गरी सार्वजनिक गरेको छ । पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयका लागि नयाँ शैक्षिक सत्रलाई अधिकतम मासिक शुल्क निर्धारण गरेको हो ।
शिक्षा शाखाले एक सूचना जारी गर्दै नयाँ शुल्क लागू गरिएको जनाएको छ । गाउँपालिकाको शिक्षा समितिको ०८२ चैत २२ को निर्णयअनुसार विद्यालयहरूले लिन पाउने अधिकतम मासिक शुल्कको सीमा तोकेको जनाएको छ ।
बुद्धशान्तिले नर्सरीका लागि मासिक शुल्क २६ सय निर्धारण गरेको छ । यस्तै, एलकेजी २७ सय, युकेजी २८ सय, कक्षा १ लाई २९ सय, कक्षा २ लाई ३ हजार, कक्षा ३ लाई ३१ सय, कक्षा ४ लाई ३२ सय, कक्षा ५ लाई ३३ सय, कक्षा ६ लाई ३४ सय, कक्षा ७ लाई ३५ सय, कक्षा ८ लाई ३६ सय, कक्षा ९ लाई ३७ सय, कक्षा १० लाई ३८ सय, कक्षा ११ लाई ३९ सय र कक्षा १२ लाई ४ हजार निर्धारण गरिएको छ ।
गाउँपालिकाको निर्णयअनुसार तोकिएभन्दा बढी शुल्क निजी विद्यालयले लिन पाउने छैनन् । निर्धारित शुल्क कार्यान्वयन गर्न अनुरोध गरिएको जनाइएको छ । गाउँपालिकाको निर्णयले अभिभावकलाई मासिक शुल्कमा एकरुपमा मिल्ने जनाएको छ ।
गाउँपालिकाले निर्णय गरेको शुल्कमा प्याब्सन बुद्धशान्तिले सहमति जनाएको छ । प्याब्सन बुद्धशान्तिका अध्यक्ष तिलक पाख्रिनले सहमतिबाटै शुल्क निर्धारण गरेको जानकारी दिए ।












