काठमाडौैं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १० वैशाख २०८३ को दिन १७ वैशाखका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका छन् ।
वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले बुधबार मात्रै १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । बुधबार राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले अधिवेशन वैशाख १७ गते दिउँसो २ बजेका लागि संसद्को अधिवेशन आह्वान भएको सूचना जारी गरेका थिए ।

स्रोतका अनुसार सरकारले संसद्सँग समन्वय नगरी अधिवेशन आह्वान गरेकाले सच्चाइएको हो । तर, सरकारले संसद सचिवालयसँग समन्वय नगर्दा सिफारिसमा ‘गडबडी’ भएको हो । बिहीबार मध्याह्न मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले गरेका निर्णय सुनाए । तर, उनले पनि संसद् अधिवेशन अन्त्यका लागि निर्णय भएको जानकारी गराएनन् ।













