बिर्तामोड । सौरा राउतको ह्याट्रिकको मद्दतमा धरानको फेयर एफसी चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहिबार बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा मोरङको बेलबारी फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फेयरले फाइनल यात्रा तय गरेको हो।

खेलको सुरुवात भने बेलबारीका लागि उत्साहजनक रह्यो। खेल सुरु भएको १०औं मिनेटमै संजय धिमालले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। प्रारम्भिक दबाब बनाएको बेलबारीले केही समय खेल नियन्त्रणमा राखे पनि त्यसपछि खेलको लय फेयरतर्फ मोडियो।

३४औं मिनेटमा सौरा राउतले बराबरी गोल फर्काउँदै खेललाई १–१ को स्थितिमा ल्याए। त्यसपछि उनले ३८औं मिनेटमा दोस्रो गोल थपे। पहिलो हाफको अतिरिक्त समयमा पुनः गोल गर्दै राउतले व्यक्तिगत ह्याट्रिक पूरा गरे र टोलीलाई ३–१ को सुरक्षित अग्रता दिलाए।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन। बेलबारीले खेलमा फर्कने प्रयास गरे पनि फेयरका रक्षक पंक्ति र गोलरक्षकको सशक्त प्रदर्शनका कारण उनीहरूको प्रयास सफल हुन सकेन।

जितसँगै फेयर एफसीले कम्तीमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सुनिश्चित गरेको छ भने बेलबारी फुटबल क्लब प्रतियोगिताबाट बाहिरिँदै खालीहात फर्किएको छ।

ह्याट्रिक नायक सौरा राउत खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, हरियाली सामुदायिक वनका अध्यक्ष जगतकुमार राई, बिर्तामोड–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा नं.७ का अध्यक्ष अविरल कृष्ण खरेलले पुरस्कार प्रदान गरेका थिए।

अब वैशाख १२ गते हुने फाइनलमा फेयर एफसीले आयोजक बुट्टाबारी युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफीमा चित्त बुझाउनेछ। उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष प्रविन राईले जानकारी दिएका छन्।

प्रतियोगिताको टाइटल प्रायोजक खेलकुद पोशाक ब्रान्ड ‘एनी’ रहेको छ। पहिलो पुरस्कार बिर्तामोड नगरपालिकाले तथा दोस्रो पुरस्कार कनकाई अस्पतालले प्रायोजन गरेको संस्थापक अध्यक्ष हिमाल कन्दङ्वाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0