हेटौंडा । मकवानपुरकै ठूलो सहकारीमध्ये एक हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक शुक्रबार मध्याह्न कार्यालयको बन्द कोठाभित्र गम्भीर अवस्थामा फेला परेकी छन्।

करिब १२ बजे अचेत अवस्थामा भेटिएपछि ढोका फुटाएर उद्धार गरी सुरुमा हेटौँडा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा रिफर गरिएको छ।

परिवारका सदस्यले कार्यस्थलमा भएको मानसिक तनावका कारण उनले विष सेवन गरी आत्महत्या प्रयास गरेको आरोप लगाउँदै सहकारीका ७ जना पदाधिकारी तथा कर्मचारीविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। उजुरीमा निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा लगायतका व्यक्तिहरूको नाम उल्लेख छ। परिवारले आरोपितहरूलाई राजनीतिक संरक्षण रहेको र प्रहरीले हालसम्म नियन्त्रणमा लिएर सोधपुछ नगरेको गुनासो गरेको छ।

घटनास्थलबाट ‘अलबिदा’ लेखिएको ७–८ पृष्ठको नोट फेला परेको बताइएको छ, जसमा पीडितले आफूमाथि भएको दुर्व्यवहार र दबाबबारे उल्लेख गरेकी छन्। परिवारका अनुसार उनलाई पटक–पटक गालीगलौज, धम्की तथा गैरकानुनी काम गर्न दबाब दिइएको थियो।

यता सहकारीका अध्यक्ष राजु वाइबाले भने आरोप अस्वीकार गरेका छन्। प्रशासनिक जिम्मेवारी हेरफेरको विषयमा असन्तुष्टि भएको बाहेक अन्य आरोप आधारहीन रहेको उनको दाबी छ।

मकवानपुर प्रहरीका अनुसार पीडित उपचारपछि फर्किएपछि दुवै पक्षबीच छलफल गरिनेछ। करिब ७ हजारभन्दा बढी सेयर सदस्य रहेको उक्त सहकारीमा पछिल्ला दुई वर्षदेखि आन्तरिक विवाद चल्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0