अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि कुल ८९ करोड ८५ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाको १९ औँ नियमित अधिवेशनमा बुधबार उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले ‘पूर्वाधारको विकास, गरिबीको अन्त्य–समृद्ध अर्जुनधारा सबैको गन्तव्य’ भन्ने मूल नाराका साथ उक्त बजेट वक्तव्य प्रस्तुत गर्नुभएको हो ।
सार्वजनिक बजेटको कुल खर्चमध्ये पूर्वाधार विकासतर्फ सबैभन्दा बढी १० करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख, सामाजिक विकासतर्फ ५ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ४४ लाख, संस्थागत विकास तथा सुशासनमा १ करोड २९ लाख र आर्थिक विकासतर्फ १ करोड ११ लाख रुपैयाँ छुट्ट्याइएको छ । नगरपालिकाको प्रशासनिक खर्चका लागि १७ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी रकम संघीय र प्रदेश सरकारको सशर्त, विशेष र समपुरक अनुदानका कार्यक्रममा खर्च हुने बजेट वक्तव्यमा उल्लेख छ ।
बजेटको स्रोत व्यवस्थापनतर्फ संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १७ करोड २५ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ४७ लाख र सशर्त अनुदानबाट ३४ करोड ३५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । कोशी प्रदेश सरकारबाट वित्तीय समानीकरणबापत १ करोड ६० लाख २३ हजार र राजस्व बाँडफाँडबापत १ करोड ७३ लाख ७७ हजार रुपैयाँ प्राप्त हुनेछ । नगरपालिकाले आन्तरिक कर तथा राजस्व संकलनबाट ७ करोड ५० लाख, मालपोत रजिष्ट्रेसनबाट ५ करोड र जनसहभागिताबाट २ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख पराजुलीले चालु आर्थिक वर्षको समीक्षा समेत गर्नुभएको थियो । चालु आवमा ९८ करोड ९९ लाखको बजेट पारित भएकोमा हालसम्म कुल ६७ प्रतिशत खर्च प्रगति भएको र असार मसान्तसम्ममा ८५ प्रतिशत पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो । गत भदौमा भएको आन्दोलनका क्रममा नगर कार्यपालिका र वडा कार्यालयहरूमा आगजनी तथा तोडफोड हुँदा १६ करोड रुपैयाँभन्दा बढीको क्षति भए तापनि छोटो समयमै मर्मत सम्भार गरी सेवा प्रवाहलाई नियमित बनाइएको उहाँले बताउनुभयो ।
नगरपालिकाले आगामी वर्ष कृषि क्षेत्रमा रैथाने बालीको संरक्षण, साना किसानलाई प्रविधि हस्तान्तरण र प्रदेशकै नमुना पशु अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने नीति लिएको छ । सामाजिक विकासतर्फ स्थानीय पाठ्यपुस्तक ‘हाम्रो अर्जुनधारा’ को पठनपाठन, सामुदायिक विद्यालयमा डिजिटल हाजिरी, विपन्नका लागि आवास मर्मत, अटिजम केयर सेन्टरको स्थापना र ज्येष्ठ नागरिकका लागि वडास्तरमै निःशुल्क स्वास्थ्य परीक्षण जस्ता लोकप्रिय कार्यक्रम समावेश गरिएका छन् ।
भौगोलिक चुनौती र सीमित स्रोतसाधनका बाबजुद सूचना प्रविधिको उपयोग गरी डिजिटल सुशासन संस्थागत गर्ने, जग्गा अतिक्रमण रोक्ने र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ । उपप्रमुख पराजुलीले बजेट आय–व्ययको प्राविधिक विवरण मात्र नभई नगरवासीको समृद्धिको मार्गचित्र भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण नगरवासीसँग सहकार्यको अपिल गर्नुभएको छ ।
१९ औँ नियमित अधिवेशनका सभाध्यक्ष बलदेवसिंह गोम्देन तामाङले असार १२ गतेसम्मलाई सभा स्थगित गर्नुभएको जानकारी गराउनुभएको छ ।












