शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा बृहत् उँभौली साकेला यलेदोङ ५०८६ तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

आगामी बैशाख २६ गते शनिबार शिवसताक्षीको झिलझिलेमा सधै वर्ष झै यस वर्ष पनि उभौली पर्व मनाउने आयोजक किराँत राई यायोख्या शिवसताक्षीले जनाएको छ ।

कार्यक्रममा झापाका विभिन्न स्थानबाट आएका किराँत समुदायका कलाकारहरूले च्याम्ब्रुङ नाच प्रस्तुत गर्नेछन् भने किराँती जातीय भेषभूषाको प्रदर्शन पनि गरिने किराँत राई यायोख्या शिवसताक्षीका सचिव मिलन राईले जानकारी दिए। कार्यक्रममा राष्ट्रिय कलाकार बबिना किराँतीसहित स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने बताइएको छ।

कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च व्यवस्थापनका लागि शिवसताक्षी नगरपालिका, स्थानीय संघ–संस्था तथा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइहरूको सहयोग रहने आयोजकले जनाएको छ।

किराँत राई यायोख्या शिवसताक्षीका अध्यक्ष मदन राईका अनुसार उँभौली पर्व प्रत्येक वर्ष वैशाख पूर्णिमादेखि किराँती परम्पराअनुसार भूमी पूजा गरी मनाइने गरिन्छ। कृषि कर्मसँग जोडिएको यस पर्वमा अन्नबाली राम्रो होस्, प्राकृतिक विपत्ति नपरोस् तथा सबैमा सुख, शान्ति र सुस्वास्थ्य कायम रहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गर्ने परम्परा रहेको छ।

उधौली पर्व न्नबाली भित्र्याइसकेपछि खुसीयाली स्वरूप मंसिर पूर्णिमामा मनाइने र उँभौलीलाई गर्मीयाम सुरु भएसँगै पशुपन्छी तथा चराचुरुङ्गीहरू लेकतिर बसाइँ सर्ने विश्वाससँग पनि जोडेर हेरिने गरिएको नगर समितिका उपाध्यक्ष सञ्जय राईले बताए।

किराँत समुदायले साकेला शिलि नाच्दै करिब एक महिनासम्म उँभौली पर्व मनाउने परम्परा रहिआएको छ। प्रकृतिपूजक किराँती समुदायले खेतीपाती सुरु गर्ने समय उँभौली र अन्नबाली पाकेपछि उधौली पर्वलाई आफ्नो प्रमुख सांस्कृतिक चाडका रूपमा विशेष उत्साहका साथ मनाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0