शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका परिवारलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले अग्र्यानिक नुहाउने साबुन तथा बुके बनाउने तालिम सुरु गरिएको छ।
मंगलबार शिवसताक्षी–०७ चन्द्रडाँगीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत शिवसताक्षी नगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यहरूलाई लक्षित गर्दै उक्त तालिमको शुभारम्भ गरिएको हो।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले अपाङ्गता भएका व्यक्तिहरूका परिवारले विभिन्न सामाजिक तथा आर्थिक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उनीहरूलाई आयआर्जनसँग जोड्न सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिका परिवारहरू आर्थिक रूपमा कमजोर अवस्थामा रहेका छन्। परिवारको पालनपोषण र दैनिक खर्च व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा यस्ता सीपमूलक तालिमले स्वरोजगार बन्न र आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण सहयोग पुग्नेछ।”
यसैबीच, बुके बनाउने तालिमको उद्घाटन कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले तालिमलाई केवल सिकाइमा सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
उहाँले तालिमलाई सीप विकासको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै व्यक्तिगत वा सामूहिक रूपमा उद्यम सञ्चालन गरी आम्दानीको स्रोत विस्तार गर्न सकिने बताउनुभयो। सिकेको सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्न सके आर्थिक सशक्तीकरणका साथै आत्मविश्वाससमेत वृद्धि हुने उहाँको भनाइ थियो।
अपाङ्गता रोकथाम तथा समावेशी अपाङ्गता शिवसताक्षीका अध्यक्ष रमेश भण्डारीका अनुसार अग्र्यानिक साबुन बनाउने तालिम नगरका ३ ओटा केन्द्रमा ६ दिन र बुके बनाउने तालिम एउटा केन्द्रमा ६ दिन सञ्चालन हुने हुनेछ। तालिम अवधिमा सहभागीहरूलाई अग्र्यानिक नुहाउने साबुन उत्पादन, प्याकेजिङ, बजार व्यवस्थापन तथा आकर्षक बुके निर्माण सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ।
नगरपालिकाले सञ्चालन गरेको यस कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिका परिवारलाई आर्थिक रूपमा सक्षम बनाउँदै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। स्थानीय स्तरमै सीप र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमप्रति सहभागीहरू उत्साहित देखिएका छन्। कार्यक्रमको सञ्चालन शिवतसाक्षी नगरपालिकाका कर्मचारी सन्दिप निरौलाले गर्नु भएको थियो ।












