बिर्तामोड । झापाको बिर्तामोड ३ बिर्ताबजार पश्चिममा रहेको अदुवाखोलाको पूलमा अहिले साँझ ट्रिपरको ठक्करले एक बालिकाको मृत्यु भएको छ ।

अहिले साँझ ७ बजे बिर्ताबजारको हटियालाइनस्थित अदुवाखोल पूलमा रामचौकबाट भद्रपुर तर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको मिक्स गिट्टी लोड भएको ट्रिफरले पैदल यात्री स्थानीय किशोर चापागाईको छोरी अन्दाजी वर्ष १० की अनुकृती चापागाईलाई ठक्कर दिई सख्त घाइते बनाएकाले तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

घटनास्थल अदुवापूलको ५० मिटर पूर्वमा रहेको नृत्य कला सिकाउने तालिम केन्द्रबाट डान्स सिकेर घर फर्किंदै गर्दा उनलाई ट्रिपरले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

पैदलयात्रुको मृत्यु भएपछि घटनास्थलमा ४०० जनाजति मानसिहरु भेला भएका थिए भने बिर्ताबजारमा रहेको प्रहरी चौकीमा १५० जनाको संख्यामा जम्मा भइ चौकी घेराउ गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना पछि उपचारका लागि अस्पताल पुर्याइए पनि बालिकाको मृत्यु भइसकेकाले उनको लाश तत्काल सोही अस्पतालको शवगृहमा राखेको प्रहरीले जनाएको छ ।

ट्रिफर चालक बुद्धशान्ति गाउँपालिका १ बस्ने अन्दाजी वर्ष ५३ को श्यामप्रसाद दाहाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने ट्रिफर घटनास्थलमै रहेको छ ।

उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमको कमाण्डमा ४ जनाको टोली खटिई गएर घटनास्थल सुरक्षित गरेको थियो भने इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको कमाण्डमा ३५ जनाको टोली गएर शान्ति सुरक्षा कायम गर्न खटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रन्जन अवाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0