सरोज भट्टराई
झापा । नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता शिवसताक्षीको दुधेमा हुने भएको छ । शिवसताक्षीको दूधे स्थित नवनिर्मित दूधे रंगशालामा आगामी कार्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।
आयोजक झापा महिला गोल्ड कपका अध्यक्ष सन्तोष थोप्राले महिला फुटबलको विकास, प्रवद्र्धन र ग्रामीण क्षेत्रका महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । झापा जिल्लालाई महिला फुटबलको हबका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखी लगानी गरिएको उनको भनाई थियो ।
नेपालमै सर्वाधिक पुरस्कार राशीको तयारी
प्रतियोगिताको विजेता टिमलाई नेपालमै सर्वाधिक पुरस्कार राशी प्रदान गरिने आयोजकको तयारी छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा हरेक खेलको प्लेयर अफ दी म्याचलाई नगदसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा आयोजकको एक टिमसहित नेपालका तीन विभागीय टिम (नेपाल आर्मी, नेपाल एपीएफ, नेपाल पुलिस), भारत र भुटानबाट एक–एक टिम तथा नेपालकै ए डिभिजनका दुई टिम गरी कुल आठ टिमको सहभागिता रहने आयोजनले जनाएको छ । यद्यपी अहिले पुरस्कार राशी कति हुने भन्ने खुलाइएको छैन । आयोजकको अनुसार नेपालमा सञ्चालित महिला गोल्डकपमा राखिने गरेको राशी भन्दा माथि हुने जनाएको छ । आयोजकले अब फेरी गरिने पत्रकार सम्मेलनमा पुरस्कार राशी खुलाइने जनाएको छ ।
दुधे रंगशालाको स्तरोन्नति, अत्याधुनिक प्याराफिट निर्माण र मैदान तयारीसहित प्रतियोगिता सञ्चालनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजनालाई भव्य र सफल बनाउन उद्योगी, व्यवसायी, व्यापारी महासंघ, पत्रकार तथा मिडिया हाउसहरूको सहकार्यको अपिल गरिएको छ।

झापा गोल्ड कपलाई सामाजिक संस्था बनाउने दीर्घ योजना
भापा महिला गोल्डकपलाई सामाजिक तथा स्थानीय स्थायी संस्थाको रूपमा विस्तार गरी आगामी दिनमा पनि महिला फुटबल र सामाजिक उत्तरदायित्वमा निरन्तर योगदान दिने लक्ष्य रहेको आयोजकले जनाएको छ। झापा महिला फुटबलको संरक्षकमा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा रहेका छन् ।
प्रतियोगिताको संयोजकमा झापा ११ स्पोर्टिङ क्लबका पूर्व अध्यक्ष जलकुमार गुरुङ्ग र सचिवालय प्रमुखमा पत्रकार हिमाल खरेल नियुक्त भएका छन् ।
आयोजकले प्रतियोगितालाई झापामा महिला फुटबलको ऐतिहासिक यात्रा सुरुआतको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
झापा महिला गोल्ड सुरु गरेर रंगशालाको उद्घाटन गरिनेः नगरप्रमुख थोप्रा
झापा महिला गोल्ड कपको सुरुवात सँगै शिवसताक्षी नगरपालिकाले निर्माण गरेको दुधे रंगशालाको उद्घाटन गरिने भएको छ ।
२०७४ सालमा शिल्यान्यस गरेर सुरु गरिएको रंगशालाको घेराबारा यस अघि नै निर्माण भइसकेको छ, भने हाल प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रंगशाला निर्माणमा हालसम्म २ करोड माथि लगानी भइसकेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । जसमा घेराबारा संघीय सरकार र प्रदेश सरकारबाट विनियोजित १ करोड १० लाख निर्माण भएको छ ।
खेल मैदान र प्याराफिट निर्माणमा २ करोड १८ लाख खर्च भइसकेको नगरप्रमुख थोप्राले बताए । त्यस्तै चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट ३ करोड रकम विनियोजन भएको छ भने नगरपालिकाको तर्फबाट ५० लाख रकमले बाँकी संरचना निर्माण गर्ने तयारी रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
Related News:
झापा महिला गोल्डकप: सदस्यता लिने संख्यामा उत्साहजनक वृद्धि
Follow us for every updates of Jhapa Womens Goldcup 2082.












