शिवसताक्षी । एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक झापा महिला गोल्डकपका अनुसार उद्घाटन खेल कात्तिक १५ गते नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ।
त्यसैगरी कात्तिक १६ गते दोस्रो खेलमा नेपाल एपिएफ क्लबले भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। कात्तिक १७ गते हुने तेस्रो खेलमा संकटा फुटबल क्लब र झापा फुटबल क्लब आमनेसामने हुनेछन् भने चौथो खेल कात्तिक १८ गते त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लबबीच हुनेछ।
पहिलो सेमिफाइनल कात्तिक १९ गते र दोस्रो सेमिफाइनल कात्तिक २० गते खेलिने कार्यक्रम रहेको छ। प्रतिस्पर्धात्मक यो गोल्डकपको फाइनल खेल कात्तिक २२ गते दुधे रंगशालामा हुनेछ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। ३ हजार दर्शक क्षमताको स्थायी प्याराफिटमा कुर्सी जडान पूरा भइसकेको छ भने ३०० वटा विशेष अतिथिका लागि सिट निर्माण गरिएको छ। साथै, करिब १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट पनि तयार गरिएको छ।
थोप्राका अनुसार मैदानलाई आधुनिक रूप दिइएको छ, र प्रतियोगितालाई भव्य, आकर्षक र व्यवस्थित बनाउन सम्पूर्ण टिम समर्पित रूपमा जुटिरहेको छ। उनका शब्दमा, “यो प्रतियोगिता देशकै महिला फुटबल इतिहासमा एक माइलस्टोन बन्नेछ।”
गोल्डकपको विजेता टोलीले नगद रु. १० लाख १० हजार प्राप्त गर्नेछ भने उपविजेताले रु. ५ लाख पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई रु. १ लाख ५० हजार सहित ट्रफी प्रदान गरिनेछ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई रु. २५ हजार पुरस्कार दिइनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याच लाई नगद रु. १५ हजार र ट्रफी प्रदान गरिनेछ।
प्रतियोगितामा आठ टिम सहभागी हुनेछन् । जसमा त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमहरू सहित संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब र भारतको सिंग्लिङ स्पोर्टिङ क्लबबीच प्रतिश्पर्धा हुनेछ ।
आयोजक समितिले यो प्रतियोगितालाई महिला फुटबलको उत्थान र ग्रासरुट स्तरमा प्रतिभा विकास गर्ने अभियानको रूपमा अघि बढाइएको बताएको छ।












