शिवसताक्षी । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम २०८२ शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ ।
प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो ।
किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समिति र किराँत थाक्थुङ चुम्लुङ र नालिफुङगो चुम्भोको संयुक्त आयोजनामा चासोक तङ्नाम पर्व मनाइएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले जानकारी दिए ।

चासोक तङ्नामको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले सबै समुदायहरुलाई एकै स्थान जम्मा गरी मौलिक पर्व चासोक तङ्नामलाई उत्सवको रुपमा मनाउनका निमित्त कार्यक्रमको आयोजकलाई जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । उनले देशको पहिचान र सम्पत्ती भनेकै सबै जात जातिहरुको भाषा, धर्म, लिपी लगायतका संस्कृतिक पर्वहरु भएको बताए । उनले भने, यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको दायित्व हो
चासोक तङ्नाम एउटा इतिहास बोकेको पर्व भएकाले पछिल्लो समय यसको महत्व बढ्दै गएको छ । उनले आगामी दिनहरु उज्जल बनाउनका निम्ति हामी हाम्रा नकरात्मक सोचहरुलाई निरुत्साहित गर्दै सबैले सृजनशिल भएर भावी सन्तनीका लागि काम गर्नु पर्ने बताए ।

कार्यक्रममा च्याब्रुङ नाच, साकेला नाच, लिम्बु भाषाका गीतहरु प्रस्तुत गरिएको थियो । त्यस्तै लिम्बु समुदायका दाजु भाई तथा दिदीबहिनीहरुले आफ्नो पोशाकमा सजिएरका कार्यक्रममा सहभागी भएका थिए भने चासोकमा लिम्बु समुदायका परम्परागत खेलहरु प्रस्तुत गरिएको थियो । आयोजकले यस पटक याक्थुङ पाङबो (लिम्बु समुदायको परम्परागत बस्ती) भल्कने गरी ३ ओटा मौलिक घर निर्माण गरिएको थियो ।
गएको मंसिर १३ गतेबाट सुरु भएको मेलाको पनि आज समापन भएको छ । मेला समितिका संयोजक अग्नी राईले मेला सभ्य र व्यवस्थित भएको जानकारी दिए । उनले आज बेलुकी १० बजेबाट मेलाका सम्पूर्ण कार्यक्रमको समापन हुने बताए ।
कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्र्की, नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, पूर्व सांसद तारासम योङ्यालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत किराँत याक्थुङ चुम्लुङ सदस्य तथा वडाध्यक्ष सन्त फउदिन गरेका थिए । वडा नं. ११ वडा सदस्य पर्शुराम अधिकारीले लिम्बु भाषा मै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भिम लिवाङले गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, लेखा अधिकृत प्रकाश योङहाङ्ग, विभिन्न राजनीतिक दल, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत कोशी प्रदेका विभिन्न स्थानबाट २० हजार बढीको सहभागिता रहेको थियो ।
के हो चासोक तङ्नाम ?
लिम्बू समुदायले महान्चाडको रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम ृन्वागी पूजो अर्थात्त उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्त्र्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान् तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदः (कोदोे, परामा )कोदोसँग उम्रने फल्ने, ताक्मारु, घैयो, तुम्री ृजुनेलोे आदि बीउ बिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।
यसरी धान र अन्नका बीउ बिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउ बिजन रोपी छरी अन्न फलाइन । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु देवीदेवतोलाई चढाउने प्रचलन बसाले, यसैलाई चासोक न्वागीे पूजा भनियो ।
मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन भनी लिम्बू जातिले मान्दछन । यी नै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान तङसिङे पनि गर्ने गरिन्छ ।
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा धुताउने, बौलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने अन्धो बनाउने, कान दुखाउने बहिरा बनाउने जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।
यतिबेला लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैयुँ फुलेको छ । यसरी पैयुँ फुलेको समयलाई लिम्बूहरूले उधौली याम दक्षिणायने सुरु भएको सङ्केतको रूपमा मान्छन। उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ ।
यही समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँद भरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ ।
जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने गर्छ । जसलाई यद्वा पूजा उभौली पूजो भन्ने गरिन्छ । र यिनै देवीदेवताको आर्सीवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।
हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम न्वागी पूजो अर्थात् उधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरि छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।












