काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ को प्रतिनिधि सभा चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले आफूले उम्मेदवारी नदिने स्पष्ट पारेका हुन् । ‘हिजो पुस ९ गते झापामा थिएँ, उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर साथीहरूलाई क्षेत्रीय भेलामा भनेको छु,’ उनले भने।
शर्माले गत वर्ष पुस २१ मा मेचीनगर झापाको धुलाबारीस्थित अतिथि सदनमा पनि यही कुरा घोषणा गरेको स्मरण गराए। उनले भने, ‘आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरूले गाउँमै मेहनत गर्नोस् । म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन। तर पनि सर्वसम्मत सिफारिस भएकोमा झापा १ का साथीहरूलाई धन्यवाद दिन्छु।’
उनले थपे, ‘मेरो पावरले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने। एउटामा हारे अर्को क्षेत्रमा वा एउटै तहमा हारे अर्कोमा पनि उम्मेदवार बन्नैपर्ने । बाँचुन्जेल क्षेत्र कब्जा गर्ने सोच राख्ने होइन। सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने। हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ।’
तीन पटक उम्मेदवार बनेको अनुभवका कारण यो पटक उम्मेदवार नहुने उनको भनाइ छ ।
‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारलाई सहयोग गर्दै जान्छु,’ उनले भने, ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ।’












