शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित लक्ष्मी नारायण मन्दिरमा चोरी भएको छ । गएराति मन्दिर परिसरभित्र रहेका पुजारीहरूको कोठा र भान्साघरमा ताला फोडी चोरले नगद चोरी गरेका हुन् ।
चोरीमा मन्दिरका आचार्य गोविन्द दाहालको कोठाबाट मात्रै २८ लाख रुपैयाँ नगद चोरी भएको आचार्य दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार, कोठाको बाहिरी ताला फोडेर भित्र दराजमा राखिएको एक स्थानबाट २५ लाख र झोलामा राखिएको ३ लाख रुपैयाँ चोरी भएको हो । भागवतको किताबभित्र राखिएको नगद समेत चोरी भएको उहाँले बताउनुभयो ।
आचार्य दाहालले भन्नुभयो, “हिजो आँखाको अपरेशनका लागि घर गएको थिएँ । आज अस्पताल जाने तयारीमा थिएँ । कोठामा चोरी भएको खबर पाएपछि मन्दिर फर्किएँ ।”

चोरले मन्दिरका पुजारी दामोदर सुवेदीको भान्साघर र पुजारी हरिप्रपन्नको कोठाको समेत ताला फोरेको भए पनि ती कोठाबाट भने कुनै सामान चोरी भएको छैन ।
त्यसैगरी, लक्ष्मी नारायण मन्दिर परिसरभित्र रहेको पुरानो मन्दिरको ताला पनि फोडिएको पाइएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय झिलझिलेले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको जनाएको छ ।












