बिर्तामोड । ऊर्जामार्फत राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना गरिएको झापा इनर्जी लिमिटेडको सातौँ वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बूको अध्यक्षतामा सम्पन्न साधारणसभामा कम्पनीको हालसम्मको प्रगति, आर्थिक अवस्था तथा भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो।
झापा इनर्जी लिमिटेडको स्थापना २०७५ साल असोज १६ गते भएको हो। कम्पनीले झापाको शिवसताक्षी नगरपालिका–४, बुलुचोकमा निर्माण गरेको १० मेगावाट क्षमताको सौर्य ऊर्जा (सोलार) आयोजनामार्फत २०८० माघ १० गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ।
कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७८ मंसीर १२ गते विद्युत खरिद–बिक्री सम्झौता भएको थियो। आयोजना निर्माणका लागि झापा इनर्जी लिमिटेडले शिवसताक्षी–४ मा रहेको आफ्नै नामको १० बिघा १७ कठ्ठा १८.५ धुर र पूर्ण स्वामित्व रहेको झापा एग्रो इन्डिष्ट्रिज प्रालिको नाममा रहेको १० बिघा ११ कठ्ठा १३ धुर गरी कुल २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गा खरिद गरेको हो।
प्रबन्ध सञ्चालक सुवास भट्टराईका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत दमक वितरण केन्द्र अन्तर्गतको बुलुचोक सब–स्टेसन हुँदै राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले १ करोड २४ लाख ८५ हजार ६० युनिट विद्युत बिक्री गरी ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, २०८२ साउन १ गतेदेखि मंसीर मसान्तसम्म मात्र ६५ लाख २१ हजार २६० युनिट विद्युत उत्पादन गरी ४ करोड ७० लाख ९३ हजार ४७९ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष साँवाले सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले पहिलो चरणमा ९ लाख ५० हजार ४७५ कित्ता आइपिओ निष्कासन गरेको थियो। जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता, कम्पनीका कर्मचारीका लागि ११ हजार ४०६ कित्ता तथा बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो।
साधारणसभा कार्यक्रममा कम्पनी सञ्चालक तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले शेयरधनीहरुलाई स्वागत गर्दै साधारणसभाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रममा कम्पनीका सञ्चालकहरू सिराज शर्मा शिवाकोटी, रामचन्द्र उप्रेती, नरहरि फुयाँल, दिपेन्द्र प्रसाई, महाप्रबन्धक सरोज श्रेष्ठ, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा शेयरधनीहरुको उल्लेख्य सहभागिता देखिएको थियो।












